ललितानिवास प्रकरणका कुनै दोषी छुट्दैनन्, पक्राउमा निर्देशन पर्खनु पर्दैनः गृहमन्त्री

ललितानिवास प्रकरणका कुनै दोषी छुट्दैनन्, पक्राउमा निर्देशन पर्खनु पर्दैनः गृहमन्त्री

केन्द्रबिन्दु
0
Shares

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ललितानिवास जग्गा प्रकरणमा निष्पक्ष ढङ्गबाट अनुसन्धान अगाडि बढेकाे बताएका छन् । 

ललितपुरको हात्तीवनस्थित निजी निवासमा आज पत्रकारसँगको अनौपचारिक कुराकानीमा उनले सरकारको ध्यान अब ललितानिवास जग्गा प्रकरणमा केन्द्रित भएको उल्लेख गर्दै प्रहरीले निष्पक्ष ढङ्गबाट अनुसन्धान अगाडि बढाएको बताएका हुन् । 

“हामीले प्रस्ट निर्देशन दिएका छौँ, कुनै राजनीतिक दबाब र प्रभावमा नपर्नु, राजनीतिक ‘कनेक्सन’का आधारमा के गर्ने भनेर नसोच्नू”, उनले भने, “कुनै प्रकारको चलखेलले भूमिका खेल्न नपाओस्, स्वतन्त्र स्वच्छ अनुसन्धान गर्नुस्, जो दोषी छ, दोषीलाई कानुनको दायरामा ल्याउनका लागि निर्भिकताका साथ अगाडि बढ्नूस् भन्ने प्रहरीलाई निर्देशन छ ।”

ललिता निवासको जग्गा सरकारकै भएको दाबी गर्दै उनले विभिन्न समयमा भएका छानबिन र प्रहरी अनुसन्धानले पनि प्रस्ट्याएको बताए । 

त्यस्तै, गृहमन्त्री श्रेष्ठले नक्कली भूटानी शरणार्थी बनाएर राज्यलाई नै अपमानित गर्ने राज्यकै मुख्य ठाउँमा बसेर जुन घटना भयो त्यो लज्जास्पद भएको बताएका छन् । उनले भने, “यो पीडादायी घटना हो । सो प्रकरणमा संलग्न जो कोहीलाई कानुनको दायरामा ल्याउने प्रक्रिया अगाडि बढेको छ ।”

भूटानी शरणार्थी प्रकरणमा जनताको मनमा उब्जेका प्रश्नलाई गम्भीरताका साथ लिएर थप अनुसन्धान गर्न आफूले प्रहरीलाई निर्देशन दिएको उल्लेख गर्दै उनले भने, “एउटा–एउटा ‘केस’ वा व्यक्तिका बारेमा हामी निर्देशन दिँदैनौँ । कुनै व्यक्तिलाई पक्रने कि नपक्रने, कुनै मुद्दामा अगाडि बढ्ने कि नबढ्ने भनेर हामीले निर्देशन नपर्खनु भनेको छौँ ।”  

Logo