राप्रपा समर्थित मजदूरको माइतिघरमा विरोध प्रदर्शन

राप्रपा समर्थित मजदूरको माइतिघरमा विरोध प्रदर्शन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) समर्थित ट्रेड युनियन महासंघ नेपाल (टुकोन) ले माइतिघर मण्डलामा विरोध प्रदर्शन गरेको छ । बिहिबार टुकोनले विभिन्न १० बुँदे माग राख्दै विरोध प्रदर्शन गरेको हो ।

१० बुँदे मागमा क्वारेन्टीनलाई व्यवस्थित गर्नुपर्ने, पीसीआर परीक्षणको दायरा बढाउनुपर्ने, गुणस्तरीय स्वास्थ्य सामग्री उपलब्ध गराउनुपर्ने, कोरोनाको नाममा भ्रष्टाचार बन्द गर्नुपर्ने, किसानलाई रासायनिक मल र बिउ उपलब्ध गराउनुपर्ने, सबै श्रमिकहरुको रोजगारीे सुनिश्चित गर्नुपर्ने, लकडाउन अवधिको पारिश्रमिक कटौति गर्न नहुने, श्रमिकहरुलाई कार्यस्थलमा सुरक्षाको प्रवन्ध गर्नुपर्ने, स्वरोजगार श्रमिकहरुको जिविकोपार्जनको प्रत्याभूति गर्नुपर्ने, प्रवासी श्रमिकहरुको व्यवस्थापन गर्नुपर्ने लगायतका रहेका छन् । बबरमहलबाट सुरु भएको विरोध प्रदर्शन माइतिघर पुगेर धर्नामा परिणत भएको थियो ।

एक घण्टासम्म चलेको धर्ना कार्यक्रमलाई समापन गर्दै टुकोनका अध्यक्ष हिक्मतजंग भण्डारीले कोरोना महामारीको विषम परिस्थितीमा राज्यले श्रमिक वर्गको समस्यालाई नजरअन्दाज गरेको आरोप लगाएका थिए । साथै, उनले लकडाउनको अवस्थामा मर्कामा परेका सम्पूर्ण क्षेत्रका श्रमिक वर्गलाई उचित राहतको व्यवस्था गर्न माग समेत गरे । श्रमिकहरुको रगत पसिनाले आर्जेको आर्थिक रेमिट्यान्समा निर्भर रहेको नेपालले नेपाली श्रमिकहरुलाई नै अप्ठ्यारो परेको अवस्थामा उचित व्यवस्थापन नगर्ने हो भने भोलि जटिल परिस्थिती उत्पन्न हुने उनको चेतावनी छ । साथै, अध्यक्ष भण्डारीले कोरोनाको नाममा भ्रष्टाचार नगर्न सरोकारवालाको ध्यानाकर्षण समेत गराए ।

विरोध प्रदर्शनमा टुकोनका केन्द्रीय पदाधिकारी तथा सदस्य लगायत पेशागत श्रमिकहरु सहभागि थिए ।

Logo