लमजुङ।
पहाडी जिल्ला लमजुङको क्ह्वोलासोथर गाउँपालिका–७ स्थित भोंजेगाउँका ११ घर पहिरोको उच्च जोखिममा छन् । बुधबारदेखि परेको अविरल वर्षाले आज बिहान पहिरो जान थालेपछि बस्तीका घर जोखिममा परेको वडा सचिव तक्मा विकले बताए।
उनका अनुसार भोंजेगाउँका गमबहादुर कामीको घरको पिंढी र आँगन भत्किएको छ । सोही घरसँग जोडिएको गोमा विकको आँगन पनि भासिएको तथा उनको तल रहेको डल्ले कामीको घर पुरिने सम्भावना रहेको वडा सचिव विकको भनाइ छ ।
यसैगरी कालो सार्कीको घरको पिंढी नै भासिएको छ । उनीहरु लगायत गाउँका अन्य घर उच्च जोखिममा रहेकाले अन्यत्र स्थानान्तरण गर्ने तयारी भइरहेको जनाइएको छ ।
गाउँमा भोंजे पहिरोले जोखिममा पार्दै आए पनि यस वर्ष भने घरनिर नै पहिरो गएपछि थप चिन्तामा स्थानीयवासी छन् । वि.सं.०४६ देखि जान थालेको भोंजे पहिरो हालसम्म पनि निरन्तर गइरहेको छ । उनका अनुसार उक्त पहिरोभन्दा पनि अहिले गाउँको घरनेर नै पहिरो गएपछि समस्या आएको छ ।रासस





























प्रतिक्रिया