काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले गुम्बाको प्रर्वधन र विकासमा जुट्न निर्देशन दिएका छन् । बिहिबार बौद्ध दर्शन, प्रवद्र्धन तथा गुम्बा विकास समितिको पुल्चोकस्थित कार्यालयको निरीक्षण गर्दै मन्त्री भट्टराईले त्यस्तो निर्देशन दिएका हुन् । पवित्र र ऐतिहासिक स्थलका रुपमा रहेका गुम्बाहरुलाई भगवान गौतम बुद्धले अघि सारेको मानवतावादी विचार र अहिंसा, शान्ति र सद्भावको प्रचार प्रसार गर्न प्रेरित गर्नुपर्ने मन्त्री भट्टराईको भनाइ छ ।
चालू आर्थिक वर्षको प्रगति समीक्षा र आगामी कार्यक्रमको छलफलमा समेत सहभागी भएका मन्त्री भट्टराईले नेपाल र मित्र राष्ट्रहरुबीचको सम्बन्धलाई हार्दिक र सुदृढ बनाउने प्रभावकारी भूमिका खेल्न आग्रह समेत गरे । उनले कुनै पनि मित्र राष्ट्रहरुको संवेदनशीलतालाई ख्याल गरी धार्मिक तथा सांस्कृतिक गतिविधिलाई अघि बढाउन निर्देशन दिए । देशभरका गुम्बामा के कस्ता गतिविधि भइरहेका छन् तिनको प्रभावकारी अनुगमन गर्न तथा गुम्बाहरुभित्र कुनैपनि अवान्छित गतिविधि हुन नदिन मन्त्री भट्टराईको निर्देशन छ ।
त्यस्तै मन्त्रालय मातहत निकायका काम कारवाहीलाई शत प्रतिशत सम्पन्न हुनेगरी काम गर्न आग्रह गर्दै मन्त्री भट्टराईले प्रत्येक महिना मन्त्रालयमा प्रगति विवरण पेश गर्न पनि निर्देशन दिए । मन्त्री भट्टराईले विश्व सम्पदाको जगेर्ना गर्दै बुद्ध सम्बन्धी अध्ययन अनुसन्धानको तिर्थस्थल नेपाल बनाउने गरी काम गर्न समेत गुम्बा विकास समितिका पदाधिकारीलाई निर्देशन दिए ।
पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले संस्थाको प्रभावकारिता बढाउँदै अगाडि बढ्दा स्रोतहरु आफै जुट्ने उनको भनाइ छ । साथै, उनले गुम्बा विकास समितिलाई चाहिने आवश्यक नियमावलीको मस्यौदा तयार गरी मन्त्रालयमा पेश गर्न निर्देशन दिए । समितिले चालू आवमा ५७ प्रतिशत मात्रै काम पूरा भएको प्रतिवेदन पेश गरेको छ । समितिमा हाल देशभर २ हजार ८ सय २२ गुम्बा आवद्ध छन् । समितिका अध्यक्ष फूपु छेम्बे शेर्पा (जिक्डोल) ले देशभरका गुम्बालाई समिति मातहत ल्याई संस्थालाई सम्पूर्ण बौद्धमार्गीको आस्थाको केन्द्र बनाउने गरी काम गर्ने प्रतिबद्धता जनाएका थिए ।
नतिजा निकाल्ने गरी काम गर्नुस्ः मन्त्री भट्टराई
त्यस्तै मन्त्री भट्टराईले अर्को कार्यक्रममा पुरातत्वलगायत मातहतका निकायका प्रमुखलाई नतिजा निकाल्ने गरी काम गर्न निर्देशन दिएका छन् । स्वास्थ्य सावधानी अपनाउँदै कामलाई प्रभावकारी बनाउन उनको सुझाव छ । उनले काम गर्न सहजताका लागि ऐन, नियमावलीको व्यवस्था गर्नु परेमा वा समयसामयिक संशोधन गर्न आवश्यक भएमा मस्यौदा तयार गरी मन्त्रालयमा पेश गर्न समेत आग्रह गरेका छन् । सम्पदा संरक्षणका लागि स्थानीय तह र प्रदेश सरकारसँग समेत मिलेर काम गर्न निर्देशन दिँदै मन्त्री भट्टराईले पुरातत्व र विश्व सम्पदा सूचीमा पर्ने खालका कामहरु द्रुत गतिमा गर्न आग्रह गरे । उनले सम्पदा संरक्षण गर्ने नयाँ योजनाका साथ मन्त्रालयमा आउन सम्बन्धित सबैलाई निर्देशन दिए ।
कार्यक्रममा पुरातत्व विभाग, नारायणहिटी दरबार संग्रहालय, राष्ट्रिय अभिलेखालय, राष्ट्रिय कला संग्रहालय भक्तपुर, हनुमानढोका दरबार स्क्वायर समिति, पाटन संग्रहालय विकास समिति, राष्ट्रिय मुद्रा संग्रहालय, स्मारक संरक्षण तथा दरबार हेरचाह अड्डा भक्तपुर, स्मारक तथा दरबार हेरचाह अड्डा ललितपुरलगायतले चालू आवको प्रगति र आगामी वर्षको वार्षिक कार्ययोजना प्रस्तुत गरेका थिए ।





























प्रतिक्रिया