काठमाडौं ।
सरकारले सक्ने करदातालाई कर तिर्न आग्रह गरेपछि कर तिर्ने क्रम बढेको छ । आन्तरिक राजश्व विभाग ठूला करदाता कार्यालयका अनुसार हालसम्म विभिन्न क्षेत्रका ठूला करदाता कार्यालयहरुले १९ अर्ब ७९ करोड रुपैँयाँ बराबर कर तिरेका छन् । सबैभन्दा बढी कर बैंक तथा वित्तीय क्षेत्रले तिरेको ठूला करदाता कार्यालयले जनाएको छ । बैंक तथा वित्तीय क्षेत्रले १० अर्ब २३ करोड रुपैँयाँ कर तिरेका छन् । त्यस्तै बहुराष्ट्रिय कम्पनीहरुले ३ अर्ब ८२ करोड, सेवा क्षेत्रका २ अर्ब ६१ करोड रुपैँयाँ कर तिरेका छन् । त्यस्तै, सबैभन्दा कम ट्रेडिङ क्षेत्रले ९० करोड रुपैँयाँ कर तिरेको छ ।
कोरोना माहामारीका कारण सरकारले गत चैत्र ११ गतेदेखि लकडाउन गरेको छ । लकडाउनका कारण उद्योग व्यवसाय, यातायात सबै ठप्प हुँदा कसैले पनि कर तिर्न सकिरहेका थिएनन् । कर तिर्न नसकेपछि सरकारको ढुकुटी खाली भएको र कर्मचारीलाई तलब समेत खुवाउन नसकेको भन्दै अर्थमन्त्री डा.युवराज खतिवडाले गत जेठ २५ गतेसम्म कर तिर्नुपर्ने अन्यथा कारवाही गरिने भन्दै सूचना सार्वजनिक गरे । त्यस पश्चात अर्थमन्त्री खतिवडासहित सरकारको निकै आलोचना भयो । सरकारले बाध्य भएर कर तिर्ने समय सारेको थियो । तर सर्वाेच्च अदालतले लकडाउन खुलेको ३० भित्र दिए हुने गरी फैसला गरेपछि कर उठ्न सकिरहेको छैन । तर ढुकुटी नै खाली भए पनि तनावमा रहेका अर्थमन्त्री डा. खतिवडाले उद्योग व्यवसायीसँग हारगुहार गरेपछि सक्ने र ठूला करदाता कर तिर्न थालेपछि सरकारलाई केही सहज भएको हो ।
त्यस्तै, महालेखा नियन्त्रकको कार्यालयका अनुसार सरकारले बिहिबारसम्म ७ खर्ब ७९ अर्ब ३६ करोड ४ लाख रुपैँयाँ बराबर राजश्व संकलन गरेको छ । सरकारले ११ खर्ब ७० अर्ब २ करोड ८७ लाख रुपैँयाँ राजश्व संकलन गर्ने लक्ष्य राखेको छ । सरकारले हालसम्म ६६.६१ प्रतिशत राजश्व संकलन गरिसकेको छ ।





























प्रतिक्रिया