उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले वीपी कोइरालाले परिकल्पना गरेको संविधान सभामार्फत लोकतान्त्रिक संविधान निर्माण गरेर मुलुक अघि बढिरहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित वी.पी कोईराला राष्ट्रिय पुरस्कार २०७९ समर्पण समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री खड्काले वीपीले अघि सारेका हरेक नीति अहिलेको लागि मार्गदर्शन भएको बताए ।
उनले भने ‘आज जन नायक वीपीलाई सम्झिरहेका छौ, जसले जनताको लागि जनताको मतबाट शासन चल्ने विधिको व्यवस्था गर्नको लागि, संविधान सभाबाट नेपाली जनताले चुनेको जनप्रतिनिधिबाट संविधान बन्नुपर्छ, चल्नुपर्छ र त्यही मत मार्फत नेपाली जनता मुलुकको मालिक हुनुपर्छ भन्ने संविधान सभाको नाराको उद्घोषसहित आन्दोलनको नेतृत्व गरेका थिए, त्यही आन्दोलन मार्फत आज हामी मुलुकमा संघीय लोकतान्त्रिक संविधान निमार्ण गरेर त्यही संविधानमार्फत मुलुकको सम्पूर्ण भूगोल, धर्म, महिला, जनजाति, दलित, मधेशी, मुस्लिम, थारुलगायत सबै धर्म जात अधिकार सम्पन्न हुने गरि संविधान निमार्ण गरेर हामी मुलुकलाई अगाडि बढाई रहेको अवस्था छ । ’ उपप्रधानमन्त्री खड्काले वीपीले तत्कालीन अवस्थामा विद्यमान कुरीतिहरुलाई पनि निर्मुल पार्ने अठोट लिएको चर्चा गरे ।
उनले भने ‘ सामाजिक न्याय, समानता सबैको प्रतिनिधित्वको शासनको भागिदारीमा हुनुपर्छ भन्ने कुराको बन्दोबस्त हामीले संविधानमा गरेका छौ । तर वीपीकोईरालाले पहिलो निर्वाचित प्रधानमन्त्रीको रुपमा आफ्नो सरकारको निमार्ण गर्दा सामाजिक न्याय र समानताको कुरा मात्रै होईन तत्कालीन अवस्थाको वेतिथि र कुरीतिहरुलाई, जमिनदारी, भूमिव्यवस्था विविध प्रकृतिका क्रान्तिकारी निर्णयबाट परिवर्तनको बेगमा मुलुकलाई अगाडि बढाएको थियो । उनको काम हाम्रो लागि मार्गदर्शन बनेको छ । ’ वीपीको जीवन, नीति र उनले लिएका रणनीति र कार्यनीतिहरु समय सापेक्ष भएको उल्लेख गर्दै उपप्रधानमन्त्री खड्काले मानिसको मूल्य र मान्यताको छहारीमा, नेपाली माटोको, मायामा समपर्णमा निर्णय हुनुपर्छ भन्ने कुरालाई आत्मसाथ गर्दै नेपाली जनताको आशा र निराशाको भावलाई चिर्न आवश्यक भएको बताए । सरकारको निर्णय, व्यवहार र प्रकृतिबाट नेपाली जनताको बीचमा नयाँ आशा जगाउँनु पनि उनको भनाई थियो ।































प्रतिक्रिया