काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले दुई अध्यक्षबीचको वार्ता धेरै भएपनि कुनै ठोस नतिजा नआएकाले अब केन्द्रीय कमिटीमा जानुपर्ने बताएका छन् । बुधबार केन्द्रबिन्दुसँग संक्षिप्त कुराकानी गर्दै नेता ज्ञवालीले अब केन्द्रीय कमिटीको बैठकमा नै विचार विर्मश गर्नुपर्ने बताएका हुन् । दुई अध्यक्षबीच वान टु वान वार्ता भन्दै स्थायी कमिटीको बैठक पटक पटक स्थगित गरिएपनि कुनै उपलब्धी नभएकाले अब पार्टीको सबैभन्दा ठूलो केन्द्रीय कमिटीमा जानुपर्ने उनको भनाइ छ । नेकपाको केन्द्रीय कमिटीमा ४ सय ४१ जना सदस्यहरु रहेका छन् । उनले भने–‘दुई अध्यक्षबीच सहमतिका लागि पटक पटक वार्ता जारी भएपनि कुनै निष्कर्ष आउन सकेन । अब स्थायी कमिटीको बैठकमा होइन केन्द्रीय कमिटीमा जानुपर्छ ।’
दुई पक्षबीच सहमति जुट्न नसक्दा केन्द्रीय कमिटी बैठक बस्नुपर्ने माग बढ्दो छ । केन्द्रीय कमिटी सदस्यहरूले बैठक माग गर्दै हस्ताक्षर अभियान समेत चलाएका छन् । गत शनिबार जुम मिटिङ गर्दै ५३ केन्द्रीय सदस्यले बैठककोे माग गरेका थिए । नेकपा अहिले सबैभन्दा अप्ठ्यारो अबस्थामा रहेकाले ४५ सदस्य भएको कमिटीले भन्दा ४ सय ४१ सदस्य रहेकाे केन्द्रीय कमिटीले सही समाधान निकाल्ने उनीहरुको तर्क थियो । नेकपाको स्थायी कमिटीमा ४५ सदस्य रहेका छन् । नेकपाको विधानअनुसार २५ प्रतिशत सदस्यले हस्ताक्षर गरी बैठक बस्नुपर्ने माग गरेमा बैठक बस्नुपर्ने व्यवस्था छ ।
बुधबार बस्ने भनिएको स्थायी कमिटीको बैठक असार २६ गतेसम्मका लागि स्थगित गरिएको छ । यसअघि सोमबारका लागि तय भएको बैठक बुधबारसम्मका लागि स्थगित गरिएको थियो । गत असार १८ मा मन्त्रिपरिषद्को बैठकले चालू संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहिबार दिउँसो अधिवेशन अन्त्य भएको प्रमाणिकरण गरेकी थिइन । बालुवाटरमा जारी स्थायी कमिटीको बैठकलाई कुनै पूर्व सूचना र छलफल नगरी संसद अधिवेशन गरिएको भन्दै स्थायी कमिटीकाे बैठकमै प्रधानमन्त्री अाेलीप्रति असन्तुष्टि व्यक्त गरेका थिए । असार १० देखि जारी स्थायी कमिटी बैठक १७ गते करिब एक घण्टा बसेर स्थगित भएको थियो । त्यसयता स्थायी कमिटीको बैठक बस्न सकेको छैन । पटक पटक स्थायी कमिटीको बैठक स्थगित हुनुलाई के भन्नुहुन्छ भन्ने केन्द्रबिन्दुको प्रश्नमा स्थायी कमिटी सदस्य रघु जी पन्तले सहमतिकाे प्रयास असफल हुँदा बैठक स्थगित हुनु सामान्य भएको बताउँछन् । उनले भने–‘पार्टीभित्रको विवाद समाधानका लागि दुई अध्यक्ष बीच वार्ता जारी हुनु । तर सहमति जुट्न नसक्दा स्थायी कमिटीको बैठक रोकिनु सामान्य नै हो ।’
नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच सहमतिका लागि भन्दै पटक–पटक भेटवार्ता भएपनि कुनै ठोस नतिजा भने आउन सकेको छैन । मंगलबारको वार्ता पनि विना निष्कर्ष टुंगिएको थियो । त्यस्तै सोमबारको डेढ घण्टा वान टु वान बसेको वार्ता र आइतबारको वार्ता पनि विना निष्कर्ष टुंगिएको थियो । स्थायी कमिटीको बैठक बस्नु अगाडि सहमतिको प्रयास गर्न भन्दै आज पनि दुई अध्यक्ष बीच वार्ता जारी छ ।































प्रतिक्रिया