काठमाडौं ।
नेपालका लागि चिनियाँ राजदूतले नेपाल कम्युनिष्ट पार्टीका नेताहरुलाई भेटेको विषय जति काठमाडौँमा चर्चा छ, त्यो भन्दा निकै बढी चर्चा नयाँ दिल्लीमा छ । नेपालले नयाँ नक्सा जारी गरेदेखि नै त्यसमा चिनियाँ हात रहेको भनी समाचार सम्प्रेषण गरिरहेका भारतिय मिडिया यतिबेला चिनियाँ राजदुतको भेटघाटलाई निकै प्राथमिकताका साथ समाचार सम्प्रेषण गरिरहेका छन् ।
हिन्दुस्तान टाइम्सले चिनियाँ राजदुत नेकपामा नेताहरुलाई भेटेर विवादमा तानिएको खबर सम्प्रेषण गरेको छ । सो अखवारले यो कुनै नयाँ विषय नभएको र यस अगाडि अप्रिल र मे महिनामा नेकपामा तिव्र विवाद हुँदा पनि उनले नेकपाका नेताहरुलाई भेटेरे मिल्न दवाव दिएको उल्लेख गरेको छ । सो अखबारले दुई कम्युनिष्ट पार्टी मिलाउनको लागि पनि चीनले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरेको छ । उता इकोनोमिक टाइम्सले चाहि चिनियाँ राजदूतले ओली र प्रचण्डको विचमा अस्थायी युद्धविराम गराएको उल्लेख गरेको छ । सो पत्रिकाले भनेको छ – प्रधानमन्त्री केपी ओलीलाई राजीनामा गर्न तिव्र दबाब परिरहेकै समयमा चिनियाँ राजदूतले ओलीलाई जोगाउनको लागि राजनीतिक परामर्श तिव्र पारेकी छिन् ।
सो पत्रिकाका अनुसार दुई नेताको विचको भेटमा चिनियाँ राजदुतले आपसी असमझारी अन्त्य गर्न आग्रह गरेका छन् । अन्य धेरै संचारमाध्यमले प्रेस ट्रष्ट अफ इन्डियाले काठमाडौबाट सम्प्रेषण गरेको समाचारलाई प्रमुख प्राथमिकताका साथ प्रकाशित गरिरहेका छन् । नेपाल र भारतको विचमा सीमा विवाद भए यता नै भारतिय संचारमाध्यमहरुले नेपालमा चीनको प्रभाव बढेको भन्ने विषयलाई अतिरन्जित गरिरहेका छन् । भारतिय पत्रिकाहरुले प्रधानमन्त्री केपी ओलीलाई प्रो चाइनिज नेताको रुपमा चित्रित गर्ने गरिरहेका छन् । पछिल्लो समयमा नेकपाभित्र देखिएको विवादलाई पनि भारतिय अखबारहरुले निकै प्राथमिकताका साथ प्रकाशन गरिरहेका छन् । नेकपा भित्रको विवादलाई उनीहरुले प्रथम पृष्ठमा नै प्रकाशन गरिरहेका छन् ।































प्रतिक्रिया