इथोपियामा सुरक्षा बल र मिलिशिया लडाकुबीच हिंसात्मक झडप

इथोपियामा सुरक्षा बल र मिलिशिया लडाकुबीच हिंसात्मक झडप

केन्द्रबिन्दु
0
Shares

इथियोपियाको अम्हारा प्रान्तमा संघीय सुरक्षा बल र स्थानीय मिलिशिया लडाकुहरूबीचको हिंसात्मक झडप जारी छ,जसले स्थिति तनावपूर्ण बनाएको छ। हालको बिग्रँदै गएको अवस्थालाई ध्यानमा राख्दै इथियोपियाको संघीय सरकारले अम्हारा क्षेत्रमा शुक्रबार संकटकाल घोषणा गरेको छ।

सरकारको यो निर्णयअघि देशका उपप्रधानमन्त्री डेमेके मेकोनले ‘तनाब स्थितिले झन् गम्भीर रूप लिइरहेको’बताएका थिए।स्थानीय नेताले नियमित कानून प्रवर्तनले हिंसा रोक्न सक्षम नभएको बताए पछि प्रधानमन्त्रीको कार्यालयले शुक्रबार भएको संकटकाल लगाउने निर्णयको घोषणा गरेको हो।

तर, प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा अम्हारामा मात्र लागू हुने कि देशभर लागू हुने भन्नेबारे भने केही बताइएको छैन। सरकारले गरेको विज्ञप्तिमा यो गतिविधिबाट राष्ट्रिय सुरक्षा र सार्वजनिक शान्तिमा खतरा दिनप्रतिदिन बढ्दै गएको भने उल्लेख गरिएको छ।

स्मरण रहोस्, यस हप्ताको सुरुमा इथियोपियाको दोस्रो सबैभन्दा धेरै जनसंख्या भएको प्रान्तमा फानो मिलिशिया र इथियोपियन नेशनल डिफेन्स फोर्स बीचको हिंसात्मक झडप तीव्र भयो,जसले संकटको स्थिति निम्त्याएको थियो। मिडिया रिपोर्टका अनुसार हालै सरकारले ‘फानो’ भनेर चिनिने मिलिशियालाई हतियार राख्न बाध्य पार्ने प्रयास गरे लगत्तै तनाव बढेको थियो।

संकटकाल घोषणा हुनुअघि उप प्रधानमन्त्रीले बुधबार शान्तिपूर्ण समाधानका लागि वार्ता गर्न आह्वान गरेका थिए। तर,उनको आह्वानको खासै प्रभाव देखिएको छैन। त्यसपछि सरकारले यस्तो निर्णय लिनुपरेको हो।

मिडिया रिपोर्टहरूका अनुसार बिहीबार मिलिशियाका सदस्यहरूले सेनाको एकाइहरूमा भयंकर आक्रमण गरेका छन्। यससँगै आन्दोलनकारीले धेरै मुख्य सडक अवरुद्ध गरेका छन्।

जसका कारण विगत केही घण्टादेखि यातायात अवरुद्ध भएको छ। अहिले तनावलाई मध्यनजर गर्दै दुई लोकप्रिय पर्यटकीय सहर लालिबेला र गोन्डरको उडान स्थगित गरिएको छ। हिंसा रोक्न प्रदेशमा इन्टरनेट बन्द गरिएको छ।

Logo