नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको एक सय किलो सुन तस्करी प्रकरणको थप अनुसन्धान अघि बढाएको छ ।
सो प्रकरणमा सुरुमा राजस्व अनुसन्धान विभागले अनुसन्धान थालेपनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा अनुसन्धानको थप जिम्मा सिआइबीलाई दिइएको थियो । आइतबार मात्रै विभागले उक्त प्रकरणको एक चरणको अनुसन्धान सकेर थप अनुसन्धान गर्नेगरी फाइल सिआइबीलाई पठाएको थियो ।
अनुसन्धान गर्दै जाँदा संगठितरूपमा सुनको तस्करी गर्ने तथा व्यापार गर्ने विषय नेपालमा प्रचलित कानूनअनुसार संगठित अपराधसम्बन्धी ऐन आकर्षित हुने देखिएकोले विभागले थप अनुसन्धान गर्न सिआइबीलाई फाइल बुझाएको बताइएको छ । उक्त प्रकरणको थप अनुसन्धान सिआइबीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाको नेतृत्वको टोलीले अघि बढाउने भएको छ। सो प्रकरणमा अब सिआइबीले आर्थिकलगायत सङ्गठित र अन्तरदेशीय अपराधका सन्दर्भमा पनि अनुसन्धान थाल्नेछ ।
विभागले यही साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय अगाडिबाट ‘ब्रेक शु’मा हालेर ल्याइएको अन्दाजी एक सय किलो सुन बरामद गरेको थियो । उक्त प्रकरणमा एकजना प्रहरी उपरीक्षकको सहयोग लिएर विभाग आफैँले अनुसन्धान गरिरहेकामा आइतबार १८ दिनपछि अनुसन्धानको जिम्मा सिआइबीलाई दिइएकाे थियो ।
अहिलेसम्म उक्त घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका १७ हिरासतमा छन् । हिरासतमा रहनेमा रामकुमार भुजेल, दिलीप भुजेल, हर्कराज राई, थाप्तेन छिरिङ, राजेन्द्र राई, अशोक लामा, जीक्वाङ लिन, राजन श्रेष्ठ, पुष्करराज भट्ट, कृष्ण श्रेष्ठ, यादव पराजुली, सुदर्शन गौतम, सन्तोष चन्द,कुमार ढकाल, सरोज श्रेष्ठ, सुरेन्द्र तामाङ र दावा छिरिङ रहेका छन्, जसमा पक्राउ परिसकेकी भन्सार एजेन्ट रुक्मीना सुब्बा भने जिम्मा जमानीमा रिहा भएकी छन् । यो अनुसन्धान तस्करीका मूल नाइकेसम्म अझै पुगेको छैन ।





























प्रतिक्रिया