प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आफू सूचना टाँसेर संसद बैठक रोक्ने नजिर स्थापित गर्ने पक्षमा नभएको बताएका छन् ।
नयाँ बानेश्वरस्थित संसद भवनमा प्रमुख तीन दलका शीर्ष नेताबीचको छलफलपछि सभामुख घिमिरेले यस्तो बताएका हुन् । ‘मैले अधितकतहरुपमा लचिलो भएर दलहरुलाई सहमतिका लागि सकारात्मक दबाब दिइरहेको छु । म दलहरुबीच आपसी विश्वास, एकता र सहकार्यको पक्षमा उभिँदै आएको छु । यही अनुरुप मैले सूचना टाँसेर पटक पटक बैठक स्थगित गरेको हो । तर, सूचना टाँसेर बैठक रोक्ने नजिर स्थापित गर्ने पक्षमा छैन । आशा छ, भोलिदेखि हामी सदनको नियमित कारबाहीमा जानेछौं ।’ उनले भने ।
शीर्ष नेताहरुको बैठकमा सहमति जुट्न नसकेपछि भोलि दिउँसो ३ बजेसम्मका लागि संसद् बैठक सूचना टाँसेर स्थगित गरिएको छ । अब मंगलबार बिहान साढे १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा नेताहरुको पुन: बैठक बस्ने पनि उनले जानकारी दिए ।
प्राकृतिक विपत् लगायतका धेरै जनसरोकारका विषय सदनलाई जानकारी दिन नसकेकाे बताएका सभामुख घिमिरेले दलहरुबीच सहमतिको विकल्प नभएकाे बताएका छन् । ‘आशा छ, भोलि दिउँसो ३ बजे बस्ने बैठक अगावै दलहरुबीच सहमति हुनेछ । सहमतिको विकल्प छैन । संसद अवरोध हुँदा जनताका आवाज रोकिएका छन् । माननीयहरुले प्राकृतिक विपत् लगायतका धेरै जनसरोकारका विषय सदनलाई जानकारी दिन सक्नुभएको छैन ।’ उनले भने ।





























प्रतिक्रिया