प्रतिनिधिसभाको जारी गतिरोध अन्त्य गर्नका लागि प्रमुख दलका शिर्ष नेताहरु पुनः छलफलमा बस्ने भएका छन्।
सुन प्रकरणमा छानबिन समिति बनाउने विषयमा हिजो सिंहदरबार र बानेश्वरमा भएका दुवै छलफल निष्कर्षमा पुग्न नसकेपछि थप छलफलका लागि आज पुनः बैठक बस्न लागेका हुन्।
जस अनुसार आजको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान १० बजे बस्नेछ। प्रतिनिधिसभा बैठक ३ बजे बस्नुअघि प्रमुख दलबिच सहमति जुटाउने प्रयास स्वरुप सो बैठक बोलाइएको हो।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,सभामुख देवराज घिमिरे, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा उक्त बैठकमा रहने छन्।
सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने एमालेको मागलाई सत्तारुढ दलले अस्विकार गरेपछि गत १२ साउनदेखी नै संसद अवरुद्ध हुँदै आएको छ।
सुन तस्करीको विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उच्चस्तरीय छानबिन समिति बनाउने विषयमा लिएको अडान र सत्तापक्षले पनि सो छानबिन समिति आवश्यक नभएको भन्दै लिएको अडानका कारण यस अघिका कयौं बैठकहरु निष्कर्षमा निस्कन सकेका छैनन्। आजको बैठकबाट निष्कर्ष निकाल्ने अपेक्षा शिर्ष नेताहरुले गरेका छन्।





























प्रतिक्रिया