पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ललिता निवास जग्गा प्रकरणमा आफूले कुनै बदमासी नगरेको बताएका छन् ।
सर्वोच्च अदालतले अनुसन्धानको दायरमा ल्याउन आदेश दिएसँगै स्वीजरल्याण्ड भ्रमणमा रहेका अध्यक्ष नेपालले मंगलबार एक भिडियो सन्देशमा भनेका छन्, ‘नबिराउनु नडराउनु । मैले कुनै बिराएको छैन, बदमासी गरेको छैन, भ्रष्टाचार गरेको छैन । मैले नितान्त असल मनसायले बालुवाटार विस्तारको मास्टरप्लान अघि बढाउन पक्षमा गरेको हुँ । कुनै अनुचित काम नगरेको भन्नेमा पूर्ण विश्वस्त छु ।’
राष्ट्र र राष्ट्रिय सम्पत्तिका विरुद्धमा मुछिने कुनै काम नगरेको बताएका उनले अदालतको निर्णयको बारेमा भने केही बोल्न चाहेनन् ।
सर्वोच्चले आइतवार पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र बाबुराम भट्टराईको पालामा भएका निर्णयको मिति तोकेर अनुसन्धान गर्न भनेपछि ललिता निवास जग्गा प्रकरणले नयाँ मोड लिएको थियाे तर, त्यसैबीच अध्यक्ष नेपाल युरोप भ्रमणमा निस्किएपछि शंका पैदा भएकाे छ। ६० दिनभित्र मुद्दा दर्ता गर्न प्रहरीले अब झन्डै दुई सातामा सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाउनुपर्ने छ। तर, पूर्वप्रधानमन्त्री नेपाल भदौ १ गते मात्र स्वदेश फर्किने योजना रहेकाले अनुसन्धानमा उनीसँग प्रत्यक्ष सोधपुछलगायत प्रभावित हुने सम्भावना देखिन्छ ।































प्रतिक्रिया