काठमाडौं ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद पछिल्लो समय चर्को रुपमा सतहमा आएको छ । लामो समयदेखि पार्टीको बैठक छल्दै आएका प्रधानमन्त्री ओली पहिलो दिनको बैठकमा उपस्थित भएर सुरुदेखि अन्त्यसम्म आफ्नो बचाउँ गरेका थिए । सरकारले इतिहासकै राम्रो काम गरेको भएपनि पार्टीभित्रैबाट असहयोग भएकाले जनतालाई बुझाउन नसकिएको उनको दुखेसो थियो । पहिलो दिनको बैठकमा बोलेका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीले सत्ता र पार्टी एकलौटी चलाएको आरोप लगाएका थिए । पहिलो दिन स्थायी कमिटीको बैठकमा छलफल गर्ने एजेण्डा तय गरी स्थगित भएको थियो । १२ गतेको बैठकमा सीमा विवादमा छलफल भएको थियो । छलफलमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भारतीय पक्षसँग सीमा विवाद समाधान गर्न पटक पटक आग्रह गरेपनि भारतीय पक्षले चासो नदेखाएको बताएका थिए ।
१३ गतेको बैठकमा २१ स्थायी कमिटी सदस्यले आ–आफ्नो धारणा राखेका थिए । २१ सदस्यले धारणा राखेपछि १३ गतेको बैठक १४ गते मदन भण्डारीको जन्म जयन्ती र १५ गते राष्ट्रिय धान दिवस परेकाले रोकिएको थियो । १४ गते मदन भण्डारीको ६९ औँ जन्म जयन्तीको अवसरमा बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूले नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेकाले भारतीय राज्य संयन्त्रले हटाउने चलखेल सुरु गरेको र आफ्नै पार्टीका नेताबाट भारतीय पक्षलाई साथ रहेको अभिव्यक्ति दिएका थिए । उनको सो अभिव्यक्तिपछि १६ गतेको बैठकमा ओलीको राजीनामा माग गरिएको थियो । १६ गतेका बैठकमा बोल्दै प्रचण्डले ओलीको राजीनामा भारतीय पक्षले माग गरेको नभइ आफूले नै मागेको दाबी गरेका थिए ।
पछिल्लो १० दिनको नेकपाभित्र देखिएको घटनाक्रमले नेकपा पार्टी फुटको संघारमा पुगेको अड्कलबाजी गरिएको छ । नेकपाभित्र देखिएको विवादले अब कस्तो मोड लिन्छ भन्ने अहिले नै भन्न सकिने अवस्था छैन । अबको नेकपाको भविष्य कता जान्छ त्यो हेर्न आगामी असार २२ मा बस्ने स्थायी कमिटीको बैठक कुर्नुको विकल्प छैन । पछिल्लो १० दिनमा देखिएको नेकपाभित्रको घटनाक्रम यस्तो छः
असार १०
सत्तारुढ नेकपाको स्थायी कमिटीको पहिलो बैठक असार १० मा बसेको थियो । असार १० बिहान साढे ११ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठक अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेर सकिएको थियो । पहिलो दिनको बैठकले छलफलका लागि सात एजेण्डा पनि तय गरेको थियो । सात एजेण्डामा वर्तमान परिस्थिति र स्थायी कमिटीको बैठकका सम्बन्धमा अध्यक्षको मन्तव्य, कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारबारे छलफल, सीमा समस्या र समाधान, सरकारका कामको समीक्षा, पार्टी एकताका बाँकी कामहरु, एमसीसी र विविध रहेका थिए । विविधमा रुकुम घटनाको सन्दर्भ, प्रतिनिधि सभामा पेश भएको नागरिकता विधेयक र संघीय संसदका सदस्यहरुको भत्ता राखिएको थियो ।
पहिलो बैठकमा ओलीले अहिलेको परिस्थितिमा पार्टी, सरकारको कामबारे सकारात्मक सन्देश जाने गरी आफ्ना सुझाव, आलोचना र जिम्मेवारीपूर्वक छलफल गर्न आग्रह गरेका थिए भने प्रचण्डले पार्टी र देशको परिस्थितिलाई केन्द्रमा राखेर गम्भीरताका साथ छलफल गर्न आग्रह गरेका थिए ।
असार १२
दोस्रो दिनको बैठकमा परराष्ट्र मन्त्री एवं स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले सीमा समस्या समाधानका लागि भारतीय पक्ष तयार नभएको दुखेसो पोखेका थिए । साथै उनले चीनद्वारा नेपाली भूमि अतिक्रमण भएको समाचार बाहिरिएको भन्दै त्यसलाई नियोजित र भ्रामक भनेका थिए । दोस्रो दिनको बैठकमा १८ जना स्थायी कमिटी सदस्यहरू बोलेपछि बैठक सकिएको थियो । दोस्रो दिन बोल्ने सदस्यहरुले नेपालको सीमा समस्या र समाधानका बारेमा आ–आफ्नो धारणा राखेका थिए । बैठकमा लिलामणि पोखरेल, मातृका यादव, देव गुरूङ, गोकर्ण विष्ट, शंकर पोखरेल, पम्फा भुसाल, छविलाल विश्वकर्मा, बेदुराम भुसाल, रघुवीर महासेठ, अमृतकुमार बोहरा, भीम रावल, अष्टलक्ष्मी शाक्य, भीम आचार्य, केशव बडाल, गणेश साह, मुकुन्द न्यौपाने र नारायणकाजी श्रेष्ठले बोलेका थिए । दोस्रो दिनको बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली कार्यव्यस्तताका कारण भन्दै अनुपस्थित भएका थिए ।
असार १३
स्थायी कमिटीको तेस्रो दिनको बैठकमा २१ जना सदस्यले धारणा राखेका थिए । तेस्रो दिनको बैठकमा पार्टी अध्यक्ष ओली अस्वस्थ्यताका कारण उपस्थित भएको केही समयमा नै निस्किएका थिए । पछि बैठकलाई कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णुप्रसाद पौडेलले सञ्चालन गरेका थिए । तेस्रो दिनको बैठकमा नेपालको सीमा समस्या र समाधानका बारेमा देवेन्द्र पौडेल, रघुबीर महासेठ, सुवास नेम्वाङ, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, टोपबहादुर रायमाझी, रघुजी पन्त, सत्यनारायण मण्डल, युवराज ज्ञवाली, नन्दकुमार प्रसाईं, प्रदीप ज्ञवाली, वामदेव गौतम, योगेश भट्टराई, पृथ्वीसुब्बा गुरूङ, ईश्वर पोखरेल, विष्णु पुकार श्रेष्ठ, मणि थापा, घनश्याम भुसाल, शक्ति बस्नेत र डा. पुष्प कँडेलले आफ्नो धारणा राखेका थिए ।
असार १६
चौथो दिनको बैठकमा बोल्ने १७ जना सदस्यले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका थिए । मंगलबार बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित १८ जनाले बोलेका थिए । बैठकमा बोल्ने मध्ये १७ जनाले प्रधानमन्त्री ओलीको राजीनामा माग गरेका थिए । चौथो दिनको बैठकमा प्रधानमन्त्रीको राजीनामा माग गर्नेमा अध्यक्ष एवं सचिवालय सदस्य प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ थिए भने स्थायी समिति सदस्यमा वेदुराम भुषाल, अष्टलक्ष्मी शाक्य, मुकुन्द न्यौपाने, भीम रावल, रघुजी पन्त, युवराज ज्ञवाली, गणेश शाह, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, पम्फा भुषाल, गोकर्ण विष्ट र भीम आचार्य रहेका थिए ।
असार १७
पाँचौँ दिनको स्थायी कमिटीको बैठकमा बोल्ने सदस्यहरूले पनि प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका थिए । पाँचौँ दिनको बैठकमा बोलेका पाँच जना सदस्यले ओलीको राजीनामा माग गरेका थिए । तीमध्ये दुई जना आमन्त्रित स्थायी समिति सदस्य रहेका थिए । आमन्त्रित स्थायी समिति सदस्य नन्दु प्रसाई र पेशल खतिवडाले राजीनामा मागेका थिए । साथै, स्थायी समिति सदस्यहरू लिलामणि पोखरेल र मातृका यादवले ओलीले प्रधानमन्त्री र अध्यक्ष दुबैबाट राजीनामा दिनुपर्ने बताएका थिए । भने पर्यटन मन्त्रीसमेत रहेका स्थायी समिति सदस्य योगेश भट्टराईले नेतृत्व बीचको विवाद मिलाउनु पर्ने धारणा राखेका थिए ।
असार १८
छैठौँ दिनको बैठक बस्ने दिन असार १८ अर्थात बिहिबार बिहानदेखि राजनीतिक गतिविधिहरु सुरु भएका थिए । एकाबिहानै ओलीका विश्वासपात्रहरु प्रचण्ड निवास पुगेका थिए । बिहानै प्रचण्ड र ओलीबीच टेलिफोन वार्ता भएको थियो । टेलिफोन वार्तामा प्रधानमन्त्रीलाई अहिले तत्कालै मन्त्रिपरिषद् बैठक नबस्न र संसद अधिवेशन अन्त्य नगर्न प्रचण्डले सुझाव दिएका थिए । सोही दिन प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका थिए । राष्ट्रपति भण्डारीसँग केही समय भेट गरेका प्रधानमन्त्रीले तत्कालै मन्त्रिपरिषद् बैठक बोलाएका थिए । बैठकमा बोलाइएका दाहाल–नेपाल पक्षका मन्त्रीहरु नपुग्दै बिहिबार साँझ ५ बजेबाट चालु छैठौँ संसद अधिवेशन अन्त्य गर्ने निर्णय मन्त्रिपरिषदबाट पारित भएको थियो ।
पार्टीभित्र छलफल नगरी संसद अधिवेशन अन्त्य गरेको विषयमा जानकारी लिन प्रचण्ड बालुवाटार गएका थिए । छोटो समयको भेटमा संसद अधिवेशन अन्त्य गरेकोमा प्रचण्डले ओलीसँग आपत्ति जनाएका थिए । ओलीपछि प्रचण्डले राष्ट्रपति भण्डारीसँग पनि भेट गरेका थिए । वार्तामा प्रचण्डले सरकारबाट कुनै अध्यादेश आउन सक्ने र त्यसलाई तत्कालै पारित नगरी तटस्थ बस्न सुझाव दिएका थिए । प्रचण्ड वार्ताका लागि पुग्नुभन्दा पहिले नै शीतल निवासबाट संसद अधिवेशन अन्त्य गर्ने पत्र संसद सचिवालय पुगेको थियो । राष्ट्रपतिले प्रमाणित गरेपछि बिहिबार साँझ ५ बजेदेखि चालू अधिवेशन अन्त्य भएको थियो । स्थायी कमिटीको बैठक चलिरहेको बेला प्रधानमन्त्रीबाट संसद अधिवेशन अन्त्य भएको खबर आएपछि स्थायी कमिटीको बैठक शनिबार बस्ने गरी स्थगित भएको थियो ।
दोस्रो पुस्ताका नेताको सक्रियता
पार्टी फुटकै नजिक पुग्न लागेको भन्दै सत्तारुढ दल नेकपाका दोस्रो तहका नेताहरुले संवाद सुरु गरेका थिए । शुक्रबार बिहान कृषि मन्त्री घनश्याम भुसाल निवासमा नेकपाका दोस्रो तहका नेताहरुले छलफल गरेका थिए । छलफलमा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरु सहभागि थिए । तत्कालीन दुई पार्टी एकता हुँदाको मुख्य सिद्धान्तमा टेकेर पार्टीलाई अगाडि बढाउन नेताहरुलाई सुझाव दिने भुसाल निवासको निष्कर्ष थियो । छलफलमा मन्त्री भुसाल, विष्णु रिमाल, शंकर पोखरेल, टोपबहादुर रायमाझी, जनार्दन शर्मा, शक्ति बस्नेत, वर्षमान पुन, सुरेन्द्र पाण्डे र योगेश भट्टराई सहभागि थिए ।
दुई अध्यक्षबीचको छलफल विना निष्कर्ष टुंगियो
प्रधानमन्त्री ओली र प्रचण्डबीचको छलफल विना निष्कर्ष टुंगिएको थियो । करिब तीन घण्टासम्म चलेको छलफल विना निष्कर्ष टुंगिएको हो । दुई अध्यक्षबीचको छलफलमा ओली पक्षका महासचिव विष्णु पौडेल र प्रचण्ड पक्षका स्थायी कमिटी सदस्य जनार्दन शर्मा सहभागी भएका थिए । पार्टीभित्र बढ्दै गएको तीव्र असन्तुष्टिका बीच दुई अध्यक्षले वान टु वान भेटवार्ता गरेका हुन् । तर वान टु वान वार्तामा पनि कुनै ठोस नतिजा आउन सकेको थिएन ।
असार २०
शनिबार बस्ने भनिएको स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ । स्रोतका अनुसार अर्को बैठक असार २२ गते बस्ने भएको छ । बिहिबार केहीबेर बसेको बैठक स्थगित भएको थियो । पार्टी एकतामा गम्भीर संकट देखा परेकाले थप छलफल गर्न असार २२ गतेसम्मका लागि बैठक स्थगित गरिएको हो ।





























प्रतिक्रिया