नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले व्यवसायीहरूको आत्मविश्वास बढाएर अर्थतन्त्रलाई चलायमान बनाउनेतर्फ सरोकारवालाले ध्यान जानुपर्ने बताएका छन् ।
बिहीवार राष्ट्रपति रामचन्द्र पौडेलसँग उद्योग वाणिज्य महासङ्घको कार्यकारिणी समितिले गरेकाे भेटमा अध्यक्ष ढकालले मुलुकको अर्थतन्त्रका केही सूचकहरू सकारात्मक रहे पनि आम नागरिक र व्यवसायीहरूको आत्मविश्वास बढाएर अर्थतन्त्रलाई चलायमान बनाउनेतर्फ सरोकारवालाले ध्यान जानुपर्ने बताएका हुन् ।
उनले निजी क्षेत्र र सर्वसाधारणको मनोबल घटेको अहिलेको अवस्थामा बजारमा माग सिर्जना गर्न सरकार, केन्द्रीय बैंक र निजी क्षेत्रले एक आपसमा सहकार्य गर्नुपर्ने बताए ।
सरकारले पूँजीगत खर्च गर्न नसकेको र बैंक वित्तीय संस्थाहरुबाट पनि कर्जा प्रवाह हुन नसकेको अवस्थामा बजारमा मागको कमी आएको र यस्तो अवस्थामा पूँजीको लागत कम गरी लगानी बढाउन निजी क्षेत्रलाई हौसला आवश्यक रहेको धारणा अध्यक्ष ढकालको थियो ।
अध्यक्ष ढकालका अनुसार व्यवसाय सत प्रतिशत चल्न सक्ने आधारमा राजश्वको लक्ष्य राखिएको हुन्छ तर व्यवसाय दुई तिहाइ खुम्चिँदा करिब पाँच दशकपछि अघिल्लो वर्षभन्दा कम राजश्व सङ्कलन भएको छ । “यससँगै सरकारी लक्ष्यभन्दा छ प्रतिशत विन्दुले कम आर्थिक वृद्धि हासिल भएको छ । त्यसैले पूँजीको लागत घटाई बजारमा रकम प्रवाह गर्नुपर्दछ”, उनले भने ।
यसैगरि अध्यक्ष ढकालले निर्यात प्रवर्द्धन, वैदेशिक लगानी आकर्षण गर्न र पर्यटन प्रवर्द्धनमा विशेष पहल आवश्यक रहेको बताए ।
महासङ्घका पदाधिकारीलगायत कार्यकारिणी समितिले राष्ट्रपति समक्ष भेट गरेको हो ।





























प्रतिक्रिया