‘पार्टी विभाजनको अवस्थामा पुगेको छैन’ : पर्यटनमन्त्री भट्टराई (भिडियोसहित)

‘पार्टी विभाजनको अवस्थामा पुगेको छैन’ : पर्यटनमन्त्री भट्टराई (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले प्रधानमन्त्री एवं पार्टी अध्यक्षबाट केपी शर्मा ओलीको राजीनामा माग्ने अहिले उपयुक्त समय नभएको बताएका छन् । शुक्रबार केन्द्रबिन्दुसँग विशेष अन्तर्वार्ता दिँदै मन्त्री भट्टराईले राजीनामा माग्ने उपयुक्त समय अहिले नभएको बताएका हुन् । नेकपालाई देशको बलियो शक्ति बनाउन दुई अध्यक्षले महत्वपूर्ण योगदान पुर्याएकाले अहिलेको अवस्थाको पनि मिलेरै समाधान खोज्नु पर्ने उनको भनाइ छ ।

लोकतन्त्रमा अंकगणित महत्वपूर्ण हुने भए पनि पार्टीभित्र देखिएको विवाद अंकगणितका आधारमा समाधान हुन नसक्ने मन्त्री भट्टराईकोे तर्क छ । पार्टीभित्र देखिएको विवादलाई पार्टीको विधान अनुसार राजनीतिक हिसाबले समाधान गर्नुपर्नेमा उनको जोड छ । साथै नेकपाको विधानले अहिले देखिएको समस्या समाधान गर्न सक्ने पनि मन्त्री भट्टराईको दाबी छ ।

त्यस्तै मन्त्री भट्टराईले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पार्टीको स्थायी कमिटीको बैठकबाट भाग्न नसक्ने बताए । पार्टी अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लोकतन्त्रका लागि लडेका योद्धा भएकाले अहिले पनि मिलेरै विवाद समाधान गर्नु पर्नेमा उनको जोड छ । साथै पार्टीभित्र देखिएको विवादलाई आन्तरिक छलफल र बैठकबाट मात्रै समाधान गर्न सकिने मन्त्री भट्टराईको भनाइ छ । उनले गुट र उपगुटका छलफल भन्दा पार्टीको बैठकबाटै विकल्प खोज्नुपर्ने सुझाव दिएका छन् ।

त्यसैगरी उनले अहिलेको स्थायी कमिटीको बैठक दुई अध्यक्षदेखि अन्य स्थायी कमिटी सदस्यका लागि पनि सहज नभएको बताएका छन् । स्थायी कमिटीको बैठकमा गुट र उपगुट देखिए पनि पार्टी विभाजनको अवस्थामा नपुगेकोे उनको दाबी छ । पार्टी एकतामा दुई अध्यक्षले महत्वपूर्ण योगदान दिएकाले अहिलेको विवाद पनि दुई अध्यक्षबाटै समाधान खोज्नु पर्नेमा मन्त्री भट्टराईको सुझाव छ ।

गत असार १० गतेदेखि चलेको नेकपाको स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्षबाट बहुमत सदस्यले ओलीको राजीनामा मागेका थिए । स्थायी कमिटीको बैठकमा ओली अल्पमतमा परेपछि पार्टीको बैठक छल्दै आएका छन् । जसले पार्टीभित्र चर्को असन्तुष्टि बढ्दै गएको छ । विवाद चलिरहेको बेला बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले चालू संसद अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो । पार्टीभित्र पर्याप्त छलफल नगरी संसद अधिवेशन अन्त्य गरेको भन्दै चर्को आलोचना गरिएको छ । प्रधानमन्त्री ओलीले एकलौटी निर्णय गर्दै अगाडि बढेकाले नेकपा विभाजनको खतरा बढेको अड्कलबाजी सुरु भइरहेका बेला मन्त्री भट्टराईले नेकपा दुर्घटनाको नजिक पुगे पनि पार्टी विभाजन हुने अवस्थामा नपुगेको बताए ।

 

Logo