काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं पूर्व संचारमन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने मागमा कुनै तर्क नभएको बताएका छन् । उनले सरकारले गर्ने काम निरन्तर गरिरहेकाले पार्टीमा राजीनामाको माग उठनुमा कुनै तर्क नभएको बताएका हुन् ।
नेता बाँस्कोटाले नेकपासित विभाजन हुने, एकतालाई बलियो बनाउने वा नेताहरुबीच कम्प्रोमाइज हुने बाहेकको विकल्प नभएको पनि बताए । उनले बैठकमा राजीनामाको कुरा उठ्नु स्वभाविक भएको पनि बताएका छन् । लोकतन्त्रमा आफ्ना कुरा सबैले राख्न सक्ने तर अहिलेसम्म लक्ष्मण रेखा कसैले ननाघेको बताए ।
उनले प्रधानमन्त्री र पार्टी अध्यक्षको पदबाट राजीनामा माग गर्ने एउटा कुरा भएको तर दिने या नदिने भन्ने कुरा प्रधानमन्त्रीको स्वविवेकको कुरा भएको बताए । उनले अझै पनि मेजोरिटी प्रधानमन्त्रीकै नाममा रहेकाले राजीनामा दिनुपर्ने अवस्था नरहेको बताए । उनले व्यक्ति हेरेर सिद्धान्तहरुको निरुपण वा प्रतिवाद गर्न नहुने समेत बताए ।
प्रधानमन्त्री पाँच वर्षलाई निर्वाचित भएको र दुईवटा अध्यक्ष महाधिवेशन नहुँदा सम्मलाई अध्यक्ष भएकाले एक व्यक्ति एक पद लागू नहुने पनि उनले स्पस्ट पारे । उनले अहिले प्रधानमन्त्रीमाथि कुनै ठूलो चौतर्फि आक्रमण पनि नभएको बताए ।
नेता बाँस्कोटाले संसद अधिवेशन अन्त्य गर्ने सम्बन्धमा प्रमुख प्रतिपक्षी दलका नेता र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाललाई समेत जानकारी रहेको बताए । संसदको महत्वपूर्ण बिजनेस नभएको जानकारी सबैलाई भएको र त्यसै कारण संसदको अधिवेशन अन्त्य हुनुलाई कुनै अनौठो मान्नु नपर्ने उनले बताए ।































प्रतिक्रिया