पाेखरा । गण्डकी प्रदेशसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७७ को विभिन्न मन्त्रालयसँग सम्बन्धित विषयमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिन शुरु गरेका छन् । बैठकमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले प्रदेशको आर्थिक समृद्धिका लागि भूमिको प्रकृतिको आधारमा उपयोग गर्ने नीति अवलम्बन गरिएको बताए । सहकारी क्षेत्रमार्फत कृषिको आधुनिकीकरण, यान्त्रिकीकरण गर्दै रोजगारीको अवसर तथा गरिबी निवारणका लागि मन्त्रालय प्रतिवद्ध रहेको उनले बताए ।
मन्त्री थापाले प्रभावकारी भूउपयोग नीति अवलम्बन गर्दै अघि बढ्ने बताउँदै खाद्य सुरक्षाको हकको प्रत्याभूतिलगायतलाई प्राथमिकतामा राखेको जानकारी दिए । प्रदेशमा कृषिमा आश्रित जनसङ्ख्या १५ लाख ५५ हजार २ सय ३५ (६४.७२ प्रतिशत) रहेको बताउँदै उनले सहकारी तथा कषि क्षेत्रमा क्षमता अभिवृद्धिलगायतमा जोड दिइएको उल्लेख गरे । उनले कोरोनाका कारण रोजगारी गुमेका व्यक्तिलाई लक्षित गरी कृषि कार्यक्रम अघि सारिएको बताउँदै कृषि व्यवसायमा रोजगारी सृजना, साना व्यवसायी सहयोग, बाँझा जग्गामा उत्पादन, तरकारीखेती प्रोत्साहन, स्याउ विकास कार्यक्रमलगायतका कार्यक्रम ल्याइएको जानकारी दिए ।
त्यस्तै उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले प्रत्येक स्थानीय तहमा उद्योग ग्राम स्थापना गर्ने लक्ष्यअनुरुप प्रक्रिया अघि बढेको बताउँदै उद्योग ग्राम स्थापनार्थ यहाँका १९ वटा बाहेकका स्थानीय तहमा काम अघि बढेको जानकारी दिए । प्रदेशभित्रका १ सय १० पर्यटकीय गन्तव्य पहिचान गरिएको बताउँदै उनले पर्यटकीय गुरुयोजनाका आधारमा अघि बढ्ने उल्लेख गरे । मन्त्री लम्सालले प्रदेशका पर्यटकीय आकर्षणलाई उजागर गर्दै सरकार अघि बढ्न लागेको उल्लेख गर्दै प्रदेशभित्रका २ सय ७४ घरवास (होम स्टे) लाई अनुदान दिइएको र समुदायको सहभागिताका आधारमा त्यहाँका विकास निर्माणका काम अघि बढेको बताए । जग्गा प्राप्तिलगायतका काममा ढिला सुस्तीलगायतका कारण कतिपय कामले अपेक्षित गति लिन नसकेको बताउँदै उनले सुशासन र पारदर्शितामा मन्त्रालय प्रतिबद्ध भएको उल्लेख गरे ।– रासस





























प्रतिक्रिया