पार्टीले रोकेपछि, काँग्रेसमा रूपान्तरण पक्षद्वारा ‘राष्ट्रव्यापी अभियान’ को घोषणा

पार्टीले रोकेपछि, काँग्रेसमा रूपान्तरण पक्षद्वारा ‘राष्ट्रव्यापी अभियान’ को घोषणा

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसले संगठन सुदृढीकरणका लागि गर्ने भनेको ‘समुदायमा काँग्रेसः राष्ट्रव्यापी अभियान’ स्थगित गरेपछि रूपान्तरण पक्षले देशैभर प्रतिनिधिसभा क्षेत्र केन्द्रित कार्यक्रम घोषणा गरेको छ।

गत साउन १० मा सकिएको केन्द्रीय समिति बैठकले भदौ १० गतेदेखि भदौ २४ गतेसम्म राष्ट्रव्यापी अभियान चलाउने निर्णय गरेको काँग्रेसले तत्कालका लागि अभियान स्थगित गरेपछि रूपान्तरण पक्षधरले काठमाडौँमा बैठक गरेर निर्वाचन क्षेत्र केन्द्रित राष्ट्रव्यापी अभियान गर्ने निर्णय गरेका हुन्।

‘पार्टीले आधिकारीक रुपमा कार्यक्रम स्थगित गर्दैमा पार्टीका अन्य कार्यकर्ता सुतेर बस्नुपर्छ भन्ने होइन’ नेता भूपेन्द्रजङ्ग शाहीले भने,‘पार्टी सुदृढिकरणका लागि अभियान संचालन गर्न लागिएको हो।’

पार्टीलाई थप गतिशील बनाएर जनताको पार्टीका रुपान्तरण गर्नका लागि १६५ निर्वाचन क्षेत्रमा कार्यक्रम गर्न लागिएको उनले बताए। ‘यो कुनै पक्ष वा विपक्षको सवाल होइन पार्टी निर्माणको अभियान हो। हामी पार्टीलाई  गतिशील बनाउन चाहान्छौँ।’ 

उनले काँग्रेसको रुपान्तरण अभियानबाट प्रभावित भएर अन्य पार्टीले समेत सोही नाममा अभियान थालेको भन्दै आफूहरुले गरेको काम प्रभावकारी भएको बताए। त्यस्तै, अर्का नेता जगदिश नरसिंह केसीले, पार्टीले पार्टीको आन्तरिक सुदृढीकरण अभियान कुनै पनि बहानामा नरोकिने बताए। भदौ २४ गते बिपी जन्मजयन्तीदेखि कात्तिक २४ गते गणेशमान सिंह जन्मजयन्तीसम्म रूपान्तरण अभियान संचालन गरिने उनले जानकारी दिए। 

‘यही भदौ २४ गतेदेखि कात्तिक २४ गतेसम्म ७७ जिल्ला, १६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा रूपान्तरण अभियान लैजाने निर्णय भएको छ,’ उनले भने। 
आफूहरुले थालेको अभियानले पार्टीले गर्ने आधिकारीक निर्णयलाई सहयोग नै पुग्ने उनको दाबी छ। यदी पार्टीले आधिकारीक रुपमा अभियान चलाए आफूहरु त्यो अभियानमा सक्रिय सहभागि हुने उनको भनाई छ।

यसबीचमा कार्यकर्ताहरू र जनतासँग पनि संवाद गरिने र प्राप्त भएका सुझाव नेतृत्वलाई बुझाउने उनले बताए। सभापति देउवासहित अहिलेका पदाधिकारीहरू विधि र विधानअनुसार नचलेको उनको आरोप छ। 

Logo