बलिउड अभिनेता आयुष्मान खुरानालाई चौधरी ग्रुपअन्तर्गतको सीजी फुड्सले भारतमा आफ्नो उत्पादन वाइवाइ चाउचाउको ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको छ ।
आफू ब्राण्ड एम्बेसडर नियुक्त भएपछि अभिनेता खुरानाले नेपाली उत्पादनसँग व्यवसायिक सहकार्य गर्न पाउँदा खुशी लागेको बताएका छन् । ‘वाइवाइ जस्तो ब्राण्डसँग काम गर्न पाउँदा एकदमै खुसी छु। यसले उपलब्ध गराउने विभिन्न रेन्ज प्रडक्टले वाइवाइलाई जनाउँछ,’ उनले भने।
सीजी फुड्स एन्ड सीजी कर्प ग्लोबल इन्डियाका प्रबन्ध निर्देशक वरुण चौधरीले आयुष्मान खुरानासँग सहकार्य गर्नु आफ्नो उच्च प्राथमिकता रहेको बताएका छन् । उनले खुरानासँग छोटो समयमै सहकार्य गर्न पाएको खुसी व्यक्त गर्दै भारतीय बजारमा वाइवाइको नेतृत्वदायी स्थिति सुनिश्चित राख्ने बताए ।
विगत २५ वर्षदेखि युवामाझ विशेष स्थान बनाउन सफल वाइवाइले अभिनेता खुरानासँगको सहकार्यले युवाहरुमाझ थप उत्साह जगाउने र आफ्नो स्थिति पनि बलियो बनाउने विश्वास व्यक्त गरेको छ । ‘वाइवाइ वाला टेस्ट’ थिम एवं ट्यागलाइनको यो सहकार्यले किशोरकिशोरी, युवा र ‘वर्किङ प्रोफेसनल’सँगको सम्बन्ध अझै प्रगाढ बन्ने कम्पनीले जनाएको छ ।
‘ब्राउन नुडल्स’ भनेर समेत चिनिने ‘प्रि–सिजन्ड’ चाउचाउ उत्पादन गर्ने एक्लो ब्राण्डका रुपमा स्थापित वाइवाइले खुरानासँगको सहकार्यमा बजारमा थप रोमाञ्चक रुपान्तरण ल्याउने बताएको छ ।
सीजी फुड, सीजी कर्प ग्लोबलको एफएमसीजी कम्पनी हो । नेपालमा आधारित बहुराष्ट्रिय कंग्लोमेट सीजी कर्प ग्लोबलको २७ भन्दा बढी देशमा १६० भन्दा बढी कम्पनी र १२३ भन्दा बढी ब्रान्ड रहेका छन् ।





























प्रतिक्रिया