अदालतले ताेकेकाे धरौटी बुझाउन नसक्दा नापीका तत्कालीन अमिन केन्द्रीय कारागार चलान

अदालतले ताेकेकाे धरौटी बुझाउन नसक्दा नापीका तत्कालीन अमिन केन्द्रीय कारागार चलान

केन्द्रबिन्दु
0
Shares

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको प्रकरणमा पक्राउ परेका नापी कार्यालय मैतिदेवी काठमाडौंका तत्कालीन अमिन अरूणकमार श्रेष्ठ कारागार चलान भएका छन् । 

जिल्ला अदालत काठमाडौँका न्यायाधीश भोलानाथ ढकालको इजलासले आइतबार ललिता निवास प्रकरणमा पक्राउ परेका १८ जनामध्ये १७ जनालाई धरौटीमा छाड्ने आदेश गरेको थियो भने केशव तुलाधरलाई साधारण तारिखमा छाडेको थियो । 

सो क्रममा आरोपी श्रेष्ठ भने धरौटी बुझाउन नसकेपछि केन्द्रीय कारागार जगन्नाथदेवलमा चलान भएका छन्। उनलाई अदालतले सात लाख ५० हजार धरौटी माग गरेको थियो । तर, धरौटी बुझाउन नसकेपछि कारागार चलान भएका हुन् । अब उनी धरौटी जुटाए मात्र छुट्न सक्छन् । तर धरौटी नबुझाएको खण्डमा फैसला नहुञ्जेलसम्म पनि कारागारमै रहन सक्नेछन् ।  

धरौटी रकम सबैको फरक फरक थियाे । ललिता निवास जग्गा प्रकरणमा अदालतले थुनामा रहेका व्यवसायी मीनबहादुर गुरुङसँग रु दुई करोड ४६ लाख धरौटी मागेको थियो । जुन सबैभन्दा बढी हाे । साथै धरौटी रकममा शिवजी भट्टसँग रु तीन लाख ३० हजार, रुद्रकुमार श्रेष्ठसँग रु सात लाख ५० हजार, बालकृष्ण श्रेष्ठसँग रु सात लाख ५० हजार, कलाधर देउजासँग रु १५ लाख रहेको छ । 

त्यस्तै, घमनकुमार कार्कीसँग रु सात लाख ५० हजार, गोपाल कार्कीसँग रु सात लाख ५० हजार, विनोद पौडेलसँग रु १५ लाख, योगराज पौडेलसँग रु सात लाख ५० हजार, नारायणराज मिश्रसँग रू सात लाख ५० हजार, अरुणकुमार श्रेष्ठसँग रु सात लाख ५० हजार धरौटी माग गरेको थियाे । 

साथै, ध्रुवप्रसाद अर्यालसँग रु तीन लाख ३० हजार, बाबुराजा महर्जनसँग रु एक लाख १० हजार, देवनारायण महर्जनसँग रु एक लाख १० हजार, सकलानन्द महर्जनसँग रु एक लाख १० हजार, सञ्जयकुमार महर्जनसँग रू एक लाख १० हजार र लोकरी घिमिरेसँग रु एक लाख ५० हजार माग गरिएकाे थियाे ।

Logo