को हुन् राजनीतिमा ‘सुवास’ छरेर अस्ताएका नेम्वाङ ?

को हुन् राजनीतिमा ‘सुवास’ छरेर अस्ताएका नेम्वाङ ?

केन्द्रबिन्दु
0
Shares

इलाम क्षेत्र नं २ का सङ्घीय सांसद सुवासचन्द्र नेम्वाङको अप्रत्याशित निधनले इलाम शोकमग्न भएको छ।

वि.सं २००९ साल फागुन २८ मा इलामको सुन्तलाबारीमा जन्मेका सुवास नेम्वाङको साेमबार भएकाे अप्रत्याशित निधनले इलाम शोकमग्न भएको  हाे। उनी विसं २०५६ देखि इलामबाट लगातार संसदीय चुनाव जितेर सांसद रहँदै आएका थिए।

उनी हाल नेकपा (एमाले)संसदीय दलका उपनेता समेत थिए। राष्ट्रिय राजनीतिमा सहमति, सहकार्य र एकताका सूत्रधार एवं इमान्दार छवि बनाएका नेम्वाङ जिल्ला बासीका लागि ‘राजनीतिक मियो’ थिए।

इलाम बजार नजिकै सुन्तलाबारमा जन्मिएका नेम्वाङ इलाम क्याम्पसमा पढ्दा अनेरास्ववियुमा लागेर २०२९ सालमा कम्युनिष्ट राजनीतिमा होमिएका थिए।

वि सं २०३३ मा राजद्रोह मुद्दामा उनी केही समय जेल परे। विसं २०४८ र २०५२ मा राष्ट्रियसभाको सदस्य भएका उनी मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिष्ट सरकारमा कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री बनेका थिए।

विसं २०५६ को संसदीय निर्वाचन जितेर उनी सार्वजनिक लेखा समिति सभापति बनेका थिए। उनी जनआन्दोलन विसं २०६२/६३ सँगै पुनः स्थापित संसद्का सभामुख भएका थिए। विसं २०६४ र २०७० मा पनि इलामबाट चुनाव जितेर संविधानसभाको अध्यक्ष भएका थिए।

संविधानसभाबाट नेपालको संविधान जारी गर्न उनले समन्वयकारी भूमिका निर्वाह गरेका थिए। उनी चार पटक सभामुख हुँदा सधैँ सर्वसम्मत नै बनेका थिए।

नेम्वाङको निधनको खबर पाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका शीर्ष नेताहरु अस्पताल पुगेका थिए। नेम्वाङको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय च्यासलमा राखिनेछ।

Logo