पशुपतिनाथको ढोका बिहान तीन बजेदेखि नै खुला, चार ठाउँबाट लाइनको व्यवस्था

पशुपतिनाथको ढोका बिहान तीन बजेदेखि नै खुला, चार ठाउँबाट लाइनको व्यवस्था

केन्द्रबिन्दु
0
Shares

तीजमा दर्शनार्थीको सुविधाको लागि पशुपतिनाथ मन्दिरको ढोका बिहान तीन बजेदेखि नै खुला गरिएको छ। दर्शनार्थीलाई चार ठाउँबाट लाइनको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

कोटेश्वर–तीनकुने–सिनामङ्गल क्षेत्रबाट आउने भक्तजनका लागि तिलगङ्गा पर्यटक टिकट काउन्टर क्षेत्रबाट प्रवेश गरी राममन्दिर–आर्यघाट क्षेत्र हुँदै पूर्वी ढोकाबाट पशुपतिनाथ मन्दिर प्रवेश गर्ने गरी पहिलो लामको व्यवस्था गरिएको छ।

यो मार्गबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल आर्यघाट जाने वाग्मती नदीमाथिका दुई पुल पार गरेपछिकोमध्ये क्षेत्रमा राख्ने गरी व्यवस्था मिलाइएको छ ।

दोस्रो लाइन मित्रपार्क क्षेत्रबाट प्रवेश गर्न पाउने गरी व्यवस्था गरिएको छ। यहाँबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल शङ्कराचार्य मठअघिको क्षेत्रमा राख्न सकिने गरी व्यवस्था गरिएको छ ।

तेस्रो लाइन गौशाला–पिङ्गलस्थान–पञ्चदेवल क्षेत्रबाट अघि बढ्ने व्यवस्था मिलाइएको छ। यहाँबाट प्रवेश गर्ने भक्तजनको जुत्ताचप्पल बज्रघरअघिको भागमा राखिनेछ ।

चौथो लाइन गुह्येश्वरी–उमाकुण्ड–कैलाश दक्षिण भाग हुँदै पशुपतिनाथ मन्दिरमा प्रवेश गर्नेछ। यो मार्गबाट प्रवेश गर्ने भक्तजनको जुत्ताचप्पल गुरु मन्दिरअघिको खुला भागमा राखिनेछ।

यसैबीच पशुपतिनाथ मूल मन्दिर र त्यस परिसरको तस्बिर एवम् भिडियो खिचेमा मोबाइल जफत गरी नगद जरिवानासमेत गरिने भएको छ। पशुपतिनाथको मूल मन्दिरभित्र प्राचीनकालदेखि नै तस्बिर एवम् भिडियो खिच्न मनाही गरिँदै आएको छ।

Skip This
Skip This
Logo