पूर्वसभामुख, वरिष्ठ अधिवक्ता दमननाथ ढुङ्गानाले संविधान बनेको ८ वर्ष भएपनि शान्ति प्रक्रियाका कतिपय काम पूरा नभएको प्रति असन्तुष्टि जनाएका छन् ।
संविधान दिवसको सन्दर्भमा कुरा गर्दै पूर्वसभामुख ढुङ्गानाले जनआन्दोलनको उपलब्धी शान्ति प्रक्रिया समेत भएको भन्दै त्यसले पूर्णता नपाउनु दुखद भएको बताएका हुन् । ‘युद्ध सकियो हिंसा सकियो माओवादी शान्ति प्रकृयामा आयो । तर कति काम अझै पनि बाँकी छन् । शान्ति प्रक्रिया सकिएको छैन् । संक्रमणकालीन न्यायको काम बाँकी छ । युद्ध पिडितलाई कसैले हेरेको छैन् । १७ वर्ष भईसक्यो । अहिले प्रधानमन्त्री बाहिर जानुभएको छ । अन्तराष्ट्रिय जगतले त्यही सोध्छ । यहाँ ऐन एउटा सहमतीमा बन्न सकेको छैन उहाँले बाहिर के भन्ने होला ।’
पूर्वसभामुख ढुङ्गानाले जनआन्दोलन र संविधान सभाको उद्देश्य नै तत्कालिन द्वन्द्व समाधान गर्नेमा केन्द्रित भएकाले केही हदसम्म आफूहरु सफल भएको जिकिर गरे । ‘हिंसा हत्या रोकिनु पर्छ । माओवादी युद्ध रोकिनु पर्छ भन्ने मै हामी केन्द्रीत थियौं । त्यही नै हाम्रो पहिलो लक्ष्य थियो । युद्ध रोक्ने शिलशिलामा नै संविधानसभाको प्रस्ताव आएको हो । संविधान सभा भयो भने माओवादीहरु शान्ति प्रकृयामा आउछन् भन्ने एउटा सहमति भएको हो ।’
उनले संविधान सभा र संविधानका एजेन्डामा पूर्णरुपमा दलहरु हावी भएको बताए। उनले भने ‘त्यो संविधान सभा कसरी गठन हुन्छ? त्यसको एजेण्डा के हुन्छ ? अन्तरिम संविधानबाटै ठुला ठुला निर्णय हुन्छ की हुँदैन ? पूनस्थापित संसदमा पनि छलफल हुन्छ की हुँदैन् ? यो त हामीलाई थाहा थिएन । त्यो त सबै तीन दलले गरे । त्यो त नागरिक समाजलाई सम्पूर्ण बाहेक गरे । यथार्थ यो हो । ’
उनले यो २०६३ को आन्दोलनमा सहभागि भएर सक्रिय भूमिका खेलेकोमा कुनै ग्लानी नभएको प्रष्ट पारे । ‘अफसोच छैन, ग्लानी छैन तर यो संविधान सभाले बनाएको संविधानले जे गर्ला भनेको थियाे, त्यो गर्न नसकेको आमधारणा छ ।’





























प्रतिक्रिया