नेपालमा लगानी भित्र्याउन पहल लिन एनआरएनएलाई अध्यक्ष ढकालको आग्रह

नेपालमा लगानी भित्र्याउन पहल लिन एनआरएनएलाई अध्यक्ष ढकालको आग्रह

केन्द्रबिन्दु
0
Shares

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी विस्तारका लागि मुलुक बाहिरबाट पहल लिन गैरआवासीय नेपाली संघ (एनआरएनए)लाई आग्रह गरेका छन् ।

नेपालमा लगानीको सम्भावना र गैरआवासीय नेपाली सङ्घको भूमिकासम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई बुधबार जापानको राजधानी टोकियोमा सम्बोधन गर्दै अध्यक्ष ढकालले पर्यटन पूर्वाधारको विकास, जलविद्युत, कृषि तथा कृषिजन्य उद्योग लगायत धेरै क्षेत्रमा लगानी विस्तारकाे प्रचुर सम्भावना रहेको बताउँदै यी क्षेत्रमा लगानी जुटाउन तथा प्रविधि भित्राउन गैरआवासीय नेपाली संघले मुलुक बाहिरबाट विशेष पहल गर्न सक्ने बताएका हुन् ।

आइएमई ग्रुपका अध्यक्ष समेत रहेका ढकालले गैर आवासीय नेपालीहरूसंगको सहकार्यमा आइएमई ग्रुपले जलविद्युत् पर्यटन पूर्वाधार तथा अन्य धेरै क्षेत्रमा सहकार्य गरिसकेको बताउँदै नेपालमा धेरै र नयाँ सम्भावनाहरु रहेको र तिनीहरुमा लगानी र प्रविधि भित्राउन सकियो भने त्यसबाट आफ्नो मातृभूमिलाई योगदान गर्नुका साथै यथोचित फाइदा समेत लिन सकिने बताए ।

नेपाल उद्योग वाणिज्य महासंघ र गैर आवासीय नेपाली सङ्घ बीच सुमधुर सम्बन्ध रहेको बताउँदै महासंघले गैरआवसीय नेपालीलाई नेपालमा उपयुक्त साझेदार छनौटको लागि समेत सहयोग गर्न सक्ने बताए । उनले पर्यटन पूर्वाधार, जलविद्युत, सूचना प्रविधि, केबलकार, रिजोर्ट तथा थिम पार्कहरुमा लगानी प्रवद्र्धन सँगसँगै प्रत्येक लगानीकर्तालाई नाफाको हिस्सेदार बनाउन सकिने प्रतिबद्धता समेत व्यक्त गरे ।

गैरआवासीय नेपाली सङ्घका अध्यक्ष डा बद्री केसी, उपाध्यक्ष महेश श्रेष्ठलगायतको उपस्थितिमा आयोजित उक्त कार्यक्रममा अध्यक्ष ढकालले आफ्नो मातृभूमिमा लगानी गरी रोजगारी सृजना गर्ने तथा उचित मुनाफा कमाउने अवसरहरु छोप्न गैर आवासीय नेपाली संघका‌ साथीहरू तयार छन् भन्ने विश्वास लिएकाे बताए ।

उनले उद्यमशीलता मार्फत नेपाललाई समृद्ध बनाउने यात्रामा गैर आवासीय नेपाली संघ र महासंघसँगसँगै अघि बढ्न र नेपालको सम्मृद्धि र समुन्नतिसँग जोडिएको विश्वभर रहेका नेपालीहरुको सम्मान र सपना साकार पार्न सबैले पहल गर्नुपर्ने बताए।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद जापानले आयोजना गरेको उक्त कार्यक्रममा १०० जनाभन्दा बढी गैरआवासीय नेपालीहरूको उपस्थिति रहेको थियो ।

Logo