नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी दसैँ र तिहारलाई लक्षित गरेर काठमाडौं उपत्यकाका लागि तीन हजार खसी–बोका र च्यांग्रा ल्याउने तयारी गरेको छ ।
दसैँलक्षित चौपाया खरिदका लागि आन्तरिक तयारी भइरहेको एक हप्तापछि प्रक्रृया अघि बढाउने कम्पनीकी प्रवक्ता शर्मिला सुवेदीले जानकारी दिइन् । ‘गत वर्ष कोभिड–१९ लगायत कारणले कम बिक्री हुने अनुमान गरी करिब २५ सयको संख्यामा खसी–बोका र च्यांग्रा ल्याएकोमा यसपटक तीन हजारवटा ल्याउने भएका छौँ,’ उनले भनिन्, ‘उपलब्ध बजेट र उपभोक्ताको मागको मूल्यांकन गरेर ल्याउने संख्यामा थपघट हुन सक्नेछ ।’ उनका अनुसार तुलसीपुर, हेटौँडा, नुवाकोट, तनहुँलगायत जिल्लाबाट खसी र बोका ल्याइनेछ । च्यांग्रा भने जुम्ला र हुम्लाबाट ल्याइनेछ ।
व्यापार कम्पनीले खसी–बोका र च्यांग्राका लागि आठ करोड ३३ लाख रुपैयाँ छुट्याएको छ । त्यसमध्येबाट तीन करोड ४२ लाखबराबरको खसी तथा बोका र चार करोड ९१ लाखबराबरको च्यांग्रा ल्याउने कम्पनीको योजना छ ।
त्यसैगरी दसैँलाई लक्षित गरेर व्यापारीहरूले ४० हजार खसी–बोका ल्याउने भएका छन् । अघिल्लो वर्ष ३० देखि ३५ हजारको संख्यामा खसी–बोका ल्याइएको थियाे । खाद्य व्यापार कम्पनीले दसैँलक्षित सहुलियत पसल असोजको तेस्रो सातादेखि सुरु गर्ने भएको छ । उपत्यकाका तीनवटै जिल्लालाई केन्द्रित गरेर सातदेखि नौवटा स्थानमा सहुलियत पसल राखिने कम्पनीले जनाएको छ ।





























प्रतिक्रिया