नेपालमा चिनियाँ बैंककाे शाखा खाेल्न अध्यक्ष ढकालकाे‍ आग्रह

नेपालमा चिनियाँ बैंककाे शाखा खाेल्न अध्यक्ष ढकालकाे‍ आग्रह

केन्द्रबिन्दु
0
Shares

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका अवसर सिर्जना गर्न, पर्यटन प्रवद्र्धन र निर्यात विस्तारका लागि सरकारले प्रयत्न गरिरहेको वताएका छन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीनको औपचारिक भ्रमणमा रहेका बेला आज बेइजिङमा आयोजित नेपाल–चीन बिजनेस समिटलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् । साथै, नेपालमा चिनियाँ लगानी बढाउन र निर्यात प्रवद्र्धनका लागि यो समिट महत्वपूर्ण रहने उनले बताए । 

अध्यक्ष ढकालले जलविद्युत, पर्यटन, उत्पादनमूलक क्षेत्र र सूचना प्रविधि लगायतका सेवा क्षेत्रमा प्रसस्त सम्भावना रहेको बताए । पछिल्लोसमय पर्यटन पुर्वाधारहरु जस्तै केवलकार, थिम पार्क रिसोर्ट लगायतमा विदेशी लगानीको बढि सम्भावना देखिएको उनले बताए । नेपाल चिनियाँ पर्यटकका लागि आकर्षक गन्तव्य भएको बताउँदै उनले चीन सरकारले नेपाललाई प्राथमिकतामा राख्न पनि आग्रह गरे । 

विदेशी लगानी सहजीकरणका लागि महासंघमा विदेशी लगानी सहायता कक्षसमेत स्थापना भएको अध्यक्ष ढकालले बताए । नेपालमा लगानी गरेका बहुराष्ट्रिय कम्पनीहरुले राम्रो मुनाफा आर्जन गरिरहेको जानकारी गराउँदै उनले नेपाल सुरक्षित लगानी गन्तव्य रहेकोमा जोड दिए । 

अध्यक्ष ढकालले दुई देशबीच कारोबार बढिरहेको सन्दर्भमा चिनियाँ बैंकको आवश्यकता रहेको वताए । चिनियाँ बैंक शाखाको रुपमा वा नेपालीसंगको संयुक्त लगानीमा आउनसक्ने उनले बताए । ‘नेपाल र चीनबीच व्यवसायिक कारोबार निरन्तर बढिरहेको छ, नेपालमा चिनियाँ बैंक शाखाको रुपमा वा नेपालीसंगको संयुक्त लगानीमा आउन सक्ने अवस्था छ’, उनले भने ।

Logo