दोस्रो एकदिवसीय क्रिकेटमा भारतसँग अस्ट्रेलिया पराजित

दोस्रो एकदिवसीय क्रिकेटमा भारतसँग अस्ट्रेलिया पराजित

केन्द्रबिन्दु
0
Shares

दोस्रो एकदिवसीय क्रिकेटमा भारतले अस्ट्रेलियालाई फराकिलो अन्तरले पराजित गरेको छ। वर्षाका कारण प्रभावित भएको खेलमा भारतले अस्ट्रेलियालाई डकवर्थ लेविस पद्धतिको आधारमा ९९ रनले पराजित गरेको हो।

जितसँगै तीन खेलको शृङ्खला भारतले एकखेल अगावै जितेको छ। जितको लागि ३३ ओभरमा ३ सय १७ रनको विजयी लक्ष्य पछ्याएको अस्ट्रेलिया २८ ओभर २ बलमा २ सय १७ रनमा अल आउट भयो।

जितको लागि ४ सय रनको विशाल लक्ष्य पछ्याउनेक्रममा पानी परेपछि खेल ३३ ओभरमा झारिएको थियो। अस्ट्रेलियाका शेन एबोटले सर्वाधिक ५४ रन बनाए। यस्तै, डेविड वार्नरले ५३, मार्नस लाबुसेन २७,जोश हेजलवुडल २३ र एलेक्स क्यारीले १४ रन बनाए।

भारतका रविन्द्र जडेजा र रविचन्द्रन आश्विनले तीन/तीन विकेट लिए भने प्रसिद्ध कृष्णाले दुई र मोहम्मद शामीले एक विकेट लिए। त्यसअघि इन्डोरमा टस हारेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय ९९ रन बनाएको थियो। भारतको जितमा श्रेयस ऐरले सर्वाधिक १ सय ५ रनको पारी खेले।

यस्तै, शुभमन गिलले पनि शतक बनाए। उनले १ सय ४ रन जोडे। यस्तै, सूर्यकुमार यादवले ७२, कप्तान लोकेश राहुलले ५२,इशान किशनले ३१ र रविन्द्र जडेजाले १३ रन बनाए।

अस्ट्रेलियाका क्यामरन ग्रीनले २ विकेट लिए भने जोश हेजलवुडल, शेन एबोट र एडम जाम्पाले एक/एक  विकेट लिए। भारत पहिलो खेलमा ५ विकेटले विजयी भएको थियो। तेस्रो खेल पर्सि बुधवार हुनेछ।

Logo