काठमाडौं ।
सञ्चार सम्बद्ध सङ्घ सङ्गठनले कोभिड–१९ को कारण देखाउँदै विभिन्न सञ्चारमाध्यममा कार्यरत श्रमजीवी पत्रकार/सञ्चारकर्मीलाई पेशाबाटै निस्काशन गर्ने, बेतलबी बिदा बस्न दबाब दिने, राजीनामा दिन बाध्य पार्ने लगायतका कार्यप्रति ध्यानाकर्षण भएको जनाएका छन् ।
पछिल्लो समयमा नेपाल पत्रकार महासङ्घले अल्टिमेटमसहित सञ्चारगृहमा पत्राचार गर्ने तथा सरोकारवाला सङ्गठनसँग बृहत् छलफल गरी दबाबमूलक कार्यक्रममार्फत् श्रमजीवीको पेशागत सुरक्षाका लागि गरिरहेको पहललाई ती सङ्घसङ्गठनले सकारात्मकरुपमा लिएको उल्लेख गरेका छन् ।
प्रेस सङ्गठन नेपाल, नेपाल प्रेस युनियन, क्रान्तिकारी पत्रकार महासङ्घ, प्रगतिशील पत्रकार सङ्घ, क्रान्तिकारी पत्रकार सङ्गठन नेपाल, प्रेस नेपाल, जनपत्रकार सङ्गठन नेपाल, प्रेस सेन्टर नेपाल, मधेशी पत्रकार समाज र लोकतान्त्रिक छापामाध्यम राष्ट्रिय समाजले आइतबार संयुक्त विज्ञप्तिमार्फत महासङ्घकै नेतृत्वमा थप दबाबमूलक कार्यक्रमको घोषणा गर्ने जनाएका हुन् ।
दर्जनभन्दा बढी मिडिया हाउसमा श्रमजीवीका गम्भीर समस्या देखिएकाले मिडिया सञ्चालकले श्रमजीवी पत्रकार ऐनविपरीतका कदम तत्काल बन्द गरी सहजतापूर्वक श्रमजीवीलाई काम गर्ने वातावरण निर्माण गर्न ती सङ्गठनको माग छ । साथै नेपाल सरकार सञ्चार मन्त्रालय लगायत सबै सम्बन्धित निकायलाई कानूनसम्मत ढङ्गले समस्याको समाधानका लागि पहल गर्न आग्रहसमेत गरिएको छ ।
“कोरोना भाइरस महामारीका कारण बन्द हुन पुगेका साना तथा स्वरोजगारमुखी मिडिया तथा रोजगारी गुमाउन पुगेका पीडित श्रमजीवी पत्रकारका लागि ‘विशेष आवधिक राहत प्याकेज’को व्यवस्था गर्न पनि सरकारसँग जोडदार माग गर्दछौँ”, विज्ञप्तिमा उल्लेख छ । श्रमजीवीको श्रमको उचित सम्मान र पेशागत सुरक्षाका लागि सशक्त आन्दोलनमार्फत दबाब दिन बाध्य हुने सङ्गठनले जनाएका छन् ।रासस





























प्रतिक्रिया