रोनाल्डोको निर्णायक गोलमा अल-नासर विजयी

रोनाल्डोको निर्णायक गोलमा अल-नासर विजयी

केन्द्रबिन्दु
0
Shares

क्रिस्टियानो रोनाल्डोले अन्तिम समयमा गरेको गोलको मद्दतले अल–नासर साउदी प्रो लिगमा रोमाञ्चक जीत हासिल गरेको छ। शुक्रबार भएको खेलमा अल-नासर अल–ताईविरुद्ध २-१ गोलले विजयी बनेकाे हाे।

खेलको ३२ औँ मिनेटमा एन्डरसन टालिस्काले गोल गर्दै अल-नासरलाई अग्रता दिलाएका थिए। तर, ७९ औँ मिनेटमा भर्जिल भिसिडजानले बराबरी गोल फर्काए। खेल बराबरीतर्फ अघि बढिरहँदा ८७ औँ मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई महत्त्वपूर्ण तीन अङ्क दिलाए।

यो सिजन साउदी प्रो लिगमा रोनाल्डो १० गोलसहित सर्वाधिक गोलकर्ताको सूचीमा छन्। त्यस्तै, ५ एसिस्टसहित उनले सबैभन्दा धेरै गोलको अवसर पनि सिर्जना गरेका छन्।

योसँगै लिगमा उनले लगातार १८ औँ सिजन दोहोरो अंकमा गोल गर्न सफल भएका छन्। पछिल्लो पटक सन् २००४/०५ सिजनमा उनले यो उपलब्धि हासिल गर्न चुकेका थिए । त्यस यता उनले क्लबका लागि ७११ गोल गरिसकेका छन्।

लिगमा लगातार छैटौँ जीतसहित टोली चौथो स्थानमा उक्लिएको छ। ८ खेलपछि टोलीको १८ अङ्क रहेको छ। शीर्ष स्थानमा रहेको अल हिलालभन्दा टोली मात्र २ अङ्कले पछि रहेको छ ।

Logo