यस वर्षको इन्द्रजात्रा अवलोकन गर्न आएका विदेशी पाहुनाहरू स्वदेश फर्केका छन्। यस वर्ष यही असोज ११ गते इन्द्रजात्राको मुख्य दिन परेको थियो।
असोज १० गते काठमाडौँ आइपुगेका पाहुनाहरू जात्रा सकिएसँगै स्वदेश फर्किएका हुन्। आमन्त्रित विदेशी अतिथि (१६ वटा भगिनी सम्बन्ध र नौ वटा अन्तर्राष्ट्रिय सङ्घसंस्था) मध्ये यस वर्ष तीन वटा देश (चीन, अमेरिका र दक्षिण कोरिया) का पाँच वटा नगर र एउटा संस्थाबाट प्रतिनिधि आएका थिए।
यसमा चीनका छेन्दु, सियान, चान्चाउ र नान्जिन गरी चार वटा नगर र अमेरिकाको फेडरिसबर्ग नगरका प्रतिनिधि थिए। उनी सबै स्वदेश फर्किसकेका छन्।
त्यसैगरी काठमाडौँ महानगरपालिकासँग सम्बन्ध भएका र जात्रा अवलोकन गर्न आएका स्वदेशी पाहुनाहरू पनि फर्किसकेका छन्।
इन्द्रजात्राको अवसरमा चित्रकला प्रदर्शनी
काठमाडौँ महानगरपालिकाले इन्द्रजात्राको बारेमा थप जानकारी गराउने उद्देश्यसहित यही असोज १३ देखि २३ गतेसम्म कला प्रदर्शनी सुरु गरेको छ।
नेपाल कला परिषद् (नेपाल आर्ट काउन्सिल) बबरमहलमा ११ दिनसम्म सञ्चालन हुने प्रदर्शनीअन्तर्गत असोज १२ गते विशेष प्रदर्शनी गरेर जात्रामा आएका पाहुनाहरूलाई अवलोकन गराइएको कामपाको उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिए।
छोटो अवधिका लागि आएका अतिथिलाई काठमाडौँका सबै ठाउँमा घुम्न लैजान कठिन भएकाले, उपत्यकाको प्रकृति र संस्कृतिका विषयमा कलाकारले कोरेका तस्बिर प्रदर्शनी गरिएको उनले जानकारी दिए।
परिषद्मा ४५ जना कलाकारका ६१ वटा चित्र प्रदर्शनमा राखिएका छन्। जीवनका अनुभूतिहरू, प्रकृति र सम्पदाको गरिमा, भैरव र शिवका अभिव्यक्तिहरू रङको प्रयोगबाट गरिएको जीवन्त प्रस्तुति प्रदर्शनको मुख्य विशेषता रहेका छन्। ऐतिहासिक इन्द्रजात्रा यही असोज ९ गते वसन्तपुरमा इन्द्रध्वजसहितको लिङ्गो ठड्याएर विधिवत्रूपमा सुरुआत भएको थियो।
त्यसैगरी १० गते जीवित देवदेवी कुमारी, गणेश र भैरवको पूजा गरी रथयात्रा चलाइएको थियो। त्यस्तै, जात्राको अन्तिम दिन १५ गते जात्रासँगै राति ८ बजेर ३७ मिनेटमा लिङ्गो ढाल्ने कार्यक्रम गरी जात्रा यस वर्षका लागि सकिने छ। जात्राको प्रचलन मल्ल राजा जयप्रकाशका पालादेखि सुरु भएको विश्वास गरिन्छ।
भाद्र शुक्ल पक्ष द्वादशीका दिन वसन्तपुरको हनुमान ढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजा सहितको लिङ्गो ठड्याएपछि प्रारम्भ हुने इन्द्रजात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन रहेको छ।































प्रतिक्रिया