काठमडौं । हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको छ। जसको कारण कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली र पहाडी भू-भागका केही स्थानमा मेघगर्जन तथा चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशको तराईको थोरै स्थानमा मेघगर्जन तथा चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
आज राति देशका हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
भारी वर्षाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यस बाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।


















