संयुक्त राज्य अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरसन (एमसिसी) का प्रमुख कार्यकारी अधिकृत (सिइओ) एलिस अल्ब्राइटले एमसिसी परियोजना निर्धारित समयमा सम्पन्न हुनेमा आफू आशावादी र विश्वस्त रहेको बताएकी छन् ।
नेपाल भ्रमणमा रहेकी सिइओ अल्ब्राइटले आज यहाँ पत्रकार सम्मेलन गरी परियोजना प्रारम्भ गरेको पाँच वर्षमा एमसिसी परियोजना सक्नैपर्ने भएकाले यसको कार्यान्वयनमा नेपाल सरकार र सरोकारवाला सबै पक्ष प्रतिबद्ध भएर लागेको आफूले पाएको बताइन् । “एमसिसी कार्यान्वयनको जिम्मेवारी एमसीए नेपालको रहेको छ, यो नेपाल सरकारअन्तर्गतको संरचना हो”, उनले भनिन् ।
प्रमुख कार्यकारी अधिकृत अलब्राइटले विश्वका विभिन्न मुलुकमा यसअन्तर्गतका परियोजना सञ्चालन गरेको उल्लेख गर्दै कार्यान्वयनमा देखिने चुनौतीको सामना गर्न सरोकारवाला सबैको सहयोगको आवश्यकता पर्नेमा जोड दिइन् ।
नेपाल भ्रमणका क्रममा उच्चस्तरीय भेटवार्ताका साथै छलफल उपलब्धीमूलक भएको उल्लेख गर्दै उनले परियोजना सफल कार्यान्वयनलगायत विषयमा छलफल भएको अवगत गराइन् ।
भ्रमणका क्रममा प्रमुख कार्यकारी अधिकृत अलब्राइट नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, परराष्ट्रमन्त्री एनपी साउद, अर्थमन्त्री डा प्रकाशशरण महत, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालगायतसँग भेटवार्ता गरेको थियो ।
गत भदौ १३ गतेदेखि एमसिसी कम्प्याक्ट कार्यान्वयनमा गइसकेको छ । नेपाल सरकार र अमेरिकी सरकारअन्तर्गतको मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) बीच २०७४ भदौ २९ गते मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट) भएको थियो । लामो बहसपछि संसद्ले गत वर्ष मात्र यस सम्झौतालाई अनुमोदन गरेको थियो । एमसिसी नेपाल कम्प्याक्टअन्तर्गत बन्ने विद्युत् प्रसारण लाइन र सडक निर्माण आयोजनाको काम सुरु भएको मितिले पाँच वर्षभित्रमा सम्पन्न गरिसक्नुपर्ने प्रावधान छ ।































प्रतिक्रिया