उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कासँग नेपालका लागि संयुक्त अधिराज्यका आवासीय राजदूत रोब फेनले शिष्टाचार भेट गरेका छन् ।
बिहीबार रक्षा मन्त्रालयमा भएको उक्त भेटमा नेपाल र बेलायतबीच सदियौँदेखि रहिआएको मैत्रीपूर्ण सम्बन्धलाई आगामी दिनमा अझ प्रगाढ बनाउँदै द्विपक्षीय हितलाई थप प्रवर्द्धन गर्ने विषयमा छलफल भएको हाे ।
साे क्रममा उपप्रधानमन्त्री खड्काले राजदूतलाई स्वागत गर्दै बेलायत र नेपालबीच सरकारी स्तरमा मात्र नभई जनस्तरमा समेत घनिष्ठ र सौहार्द्रपूर्ण सम्बन्ध रहेको चर्चा गरेको मन्त्रालयका प्रवक्ता प्रकाश पौडेलले जानकारी दिए । उनले फेनकाे नेपाल बसाईको क्रममा दुई देशबीचको सम्बन्धलाई थप फराकिलो बनाउँदै नयाँ उचाइमा पुर्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
संयुक्त अधिराज्य नेपालको एउटा पुरानो मित्र भएको र नेपालको आर्थिक सामाजिक विकासमा संयुक्त अधिराज्य सरकारले विगतदेखि नै सहयोग उपलब्ध गराउँदै आएकोमा धन्यवाद व्यक्त गर्दै उपप्रधानमन्त्री खड्काले दुई देशबीच सहयोगका क्षेत्रहरू आगामी दिनमा थप फराकिलो हुँदै जाने विचार व्यक्त गरे ।
उनले सेवा निवृत्त ब्रिटिस गोर्खा सैनिकलाई समान पेन्सन लगायतका सुविधाहरू उपलब्ध गराउने सम्बन्धमा संयुक्त अधिराज्य सरकारबाट आवश्यक सहयोग हुने विश्वास व्यक्त गरे ।
साे अवसरमा राजदूत फेनले दुई देशबीच मैत्रीपूर्ण सम्बन्ध कायम भएको सय वर्ष पूरा भएको र यसबीचमा दुई देशको सम्बन्धले नयाँ उचाइ लिएको विचार व्यक्त गरे । नेपालले संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वशान्ति स्थापना कार्यमा पुर्याएको योगदान विशिष्ट रहेको कुरा उल्लेख गर्दै उनले नेपालको आर्थिक, सामाजिक र मानवीय विकासमा सहयोग गर्न संयुक्त अधिराज्य सरकार सदैव तत्पर रहेको विचार व्यक्त गरे ।
उनले आफ्नो कार्यकालको दौरान नेपाल र संयुक्त अधिराज्यबीचको द्विपक्षीय सम्बन्धलाई थप फलदायी र उपलब्धिमूलक बनाउन निरन्तर प्रयास गर्ने कुरा राखे ।





























प्रतिक्रिया