‘हेलिकप्टरको आवाजले चर्किएका घरहरु नभत्किउन्, हेलिकप्टर गैसकेपछि सकेसम्म अरु पुग्न नसेकेका दुर्गम ठाउँ तिर पुग्नु होला । हामी बझाङका जनताको साथमा छौं ।’ यो राष्ट्रिय स्वतन्त्र पार्टीका रास्वपाका सभापति रवि लामिछानेले सामाजिक सञ्जालमा राखेको स्टाटसको अंश हो ।
हाल भूकम्प प्रभावित जिल्ला बझाङमा रहेका सभापति लामिछानेले नेपाली सेनाको हेलिकप्टरमार्फत बझाङ पुग्न लागेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गरेर स्टाटस लेखेका हुन् । मंगलबार अर्थात यही असोज १६ गते बझाङको तालकोट र चैनपुर आसपास केन्द्रबिन्दु भएर भूकम्प र त्यसपछिका परकम्पले क्ष्ति पुर्याएको थियो ।
मंगलबार भूकम्प गएपछि, त्यसलगतै अर्थात बुधबार रास्वपाका सभापति अन्य टोलीसहित बझाङ पुगेका थिए, भने बिहिबारदेखि राहत तथा उद्धारका कार्यमा जुटेका थिए । सभापति लामिछानेले बझाङ पुगेर त्यहाँका भूकम्प पीडितको अवस्था, क्षति पुगेका भौतिक संरचनाको अवलोकन गर्दै स्थानीयलाई त्यहाँको पीडा केन्द्रसम्म पुर्याउने आश्वासन पनि दिँदै आएका छन् ।
स्टाटसमार्फत सभापति लामिछानेले प्रधानमन्त्रीलाई सम्बोधन गदैँ त्यहाँका भूकम्प पीडितको अवस्थाको बारेमा पनि जानकारी गराएका छन् । उनले लेखेका छन् ‘प्रधानमन्त्रीज्यू आज भूकम्प प्रभावित जिल्ला बझाङ आउँदै हुनुहुन्छ भन्ने सुनें । यहाँ प्रभावितको व्यवस्थापनमा समस्या छ । सबैका लागि प्रयाप्त त्रिपाल पनि छैन । चिसो बढ्दो छ, ओढ्ने–ओछ्याउने आवश्यक छ । बच्चा र जेष्ठ नागरिकको विशेष हेरचाह गर्नुपर्ने छ । स्वास्थ्य चौकीहरु र शिक्षालयहरुलाई प्राथमिकतामा राखी तत्काल बैकल्पिक उपाय सहितका टेम्पोरेरी सेल्टर टेण्ट आवश्यक छन् । प्रभावितलाई अब क्रमशः अरु समस्याले पिरोल्ने छ । घर भत्किएका र चर्किएकालाई विस्तारै सुरक्षित आवासमा लैजानु पर्ने छ । प्रभावितबीच पुग्दै गर्दा प्रधानमन्त्रीज्यूले पक्कै यी समस्याबारे सोच्नु भएको होला । प्रभावितलाई निरास नबनाउनुहुन आग्रह गर्दछु । हेलिकप्टरको आवाजले चर्किएका घरहरु नभत्किउन् , हेलीकप्टर गैसकेपछि सकेसम्म अरु पुग्न नसेकेका दुर्गम ठाउँ तिर पुग्नु होला । हामी बझाङका जनताको साथमा छौं ।’
प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित जिल्ला बझाङ गएका छन् । शुक्रबार बिहान ११ बजे नेपाली सेनाको हेलिकप्टर चढेर उनी भूकम्प प्रभावित जिल्ला बझाङ गएका हुन् । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, विपद् व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेल पनि प्रधानमन्त्रीसँगै बझाङ गएका छन् ।
प्रधानमन्त्री प्रचण्डले बझाङ पुगेर भूकम्पले पुर्याएको क्षति अवलोकन गर्नुका साथै भूकम्पपीडितको अवस्था र तत्काल आवश्यक राहतका लागि सम्बन्धित निकायलाई निर्देशन दिई प्रधानमन्त्री प्रचण्ड आजै काठमाडौं फर्कनेछन् ।





























प्रतिक्रिया