मुस्कुराउन, खुसी हुन कसलाई मन लाग्दैन, तस्बिरमा होस् या जीवनमा मुस्कुराएको सबैलाई सुहाउँछ । मुस्कुराउँदा सुन्दर देखिनु त छँदै छ, साथै यसले हाम्रो स्वास्थ्य र जीवनलाई थप उर्जा पनि दिन्छ । साथै मुस्कुराउने मान्छेहरु सबैको प्यारा पनि हुन्छन् । आज अक्टोबर ६ अर्थात विश्व मुस्कान दिवस, विश्वभर विभिन्न कार्यक्रमको आयोजना गर्दै मनाइने गरिन्छ । मानिसमा आपसी दया, सद्भाव र खुसी फैलाउन प्रोत्साहित गर्न सन् १९९९ देखि यो दिवस मनाउन सुरुआत गरिएको हो ।
पछिल्लोसमय नेपालमा पनि विश्व मुस्कान दिवसलाई सम्झिने प्रचलन बढेको छ । सूचना प्रविधिको बढ्दो प्रयोगसँगै सामाजिक सञ्जालमा मुस्कुराएका तस्बिरहरु राख्दै एक–आपसमा शुभकामना दिएर नेपालीहरुले पनि विश्व मुस्कान दिवसलाई सम्झिरहेका हुन्छन् ।
सन् २०२३ अर्थात यस वर्षको मुस्कान दिवसको नारा ‘डु एन एक्ट अफ काइन्डनेस, हेल्प वान परसन स्माईल’ छ । अर्थात ‘दयाको कार्य गर्नुहोस्, जसले अर्को व्यक्तिलाइ मुस्कुराउन मद्दत गरोस्’
वर्चेस्टरका एक कलाकार हार्वे बलले सन् १९६३ मा अभिनयको क्रममा मुस्कानसहितको भाव अनुहारमा प्रस्तुत गरे । जसले मानिसहरूको ध्यान मुस्कानको महत्त्वतिर केन्द्रित हुन पुग्यो । त्यसपछि सन् १९९९ देखि यो दिवस मनाउन थालिएको हो । सन् २००१ मा हार्वे बलको निधन भयो । त्यति बेला उनको सम्झनामा बनेको ‘विश्व हार्वे बल मुस्कान फाउन्डेसन’ले आजको दिनमा थुप्रै ठाउँमा मुस्कान दिवस विशेष कार्यक्रमहरू आयोजना गर्दै आएको छ । यस फाउन्डेसनको नारा छ, ‘संसारलाई मुस्कानले सुधार गर्नुहोस् ।’
मनोविद्हरुपनि मुस्कुराइरहनुका धेरै फाइदा रहेको बताउँछन् । उनीहरुका अनुसार मुस्कानले व्यक्तिको व्यक्तित्वलाई आकर्षकसँगै सामाजिक सम्बन्धलाई प्रगाढ बनाउन सहयोग गर्छ । मानिस सामाजिक प्राणी भएकाले सधैँ समाजमा बस्न रुचाउँछ । सही सम्बन्धको अभावमा थुप्रै खालका मानसिक विकारको अवस्थामा पुग्ने अवस्था हुन्छ, जस्तै डिप्रेसन, एन्जाइटी”, पनि कम हुने मनोविद्हरुको भनाइ छ।
मुस्कानले व्यक्तिको सामना गर्न सक्ने क्षमतालाई वृद्धि गर्छ । मुस्कानले आत्मविश्वास बढाउँछ । मनोविद्हरु कतिपय व्यक्तिलाई मुस्कुराउन नै नसक्ने समस्या हुने बताउँछन् । सके मुस्कुराइरहने नसके मुखको मांशपेशीलाई मुस्काउने अभ्यास गर्नुपर्ने उनीहरुको सुझाव छ ।
मनोविद्हरु भन्छन्- “खुलेर मुस्कुराउन नसक्ने थुप्रै व्यक्ति हुनुहुन्छ । हाँसो उठ्दैन भने पनि जबर्जस्ती भए पनि मांशपेशी तन्काउनुपर्छ”, “मुखमा पेन्सिल राखेर भए पनि मुखको मांशपेशी बङ्ग्गाउने वा ओठको दुवै छेउमा दुई चौरऔलाले दबाएर माथितिर तान्छौ भने त्यसले हाँसोजस्तो देखाइदिन्छ । त्यो भए पनि हाम्रो मस्तिष्कले हाँस्नका खुसी पैदा गर्ने रसायन उत्पादन गर्दछ ।”
उनीहरुका अनुसार यसरी मुखको मांशपेशीलाई तन्काएर भए पनि मुस्काउने वा हाँस्ने अभ्यासले बानीको विकास गर्छ ।
बढ्दो सहरीकरण, सूचना प्रविधिको हालको युगमा मान्छेहरु सफल हुन, मिहिनेत र प्रतिस्प्रर्धामा यति लिप्त भइरहेका हुन्छन् कि एउटा मीठो मुस्कान दिन समेत भुलिसकेका हुन्छन् । तर जीवनको एउटा महत्त्वपूर्ण कार्य भनेकै आफू मुस्कुराउनु र अरूलाई मुस्कुराउन सिकाउनु हो । अनि मुस्कुराउन प्रोत्साहन गर्नु हो । घरमा होस् या कार्यालय अन्य स्थानमा जतिसुकै, तनाव र व्यस्त भएपनि एक मुस्कानले हामीलाई सकारात्मक उर्जा दिन्छ ।































प्रतिक्रिया