१९औं संस्करणको एसियाली खेलकुदमा मुलुकका लागि पहिलो पदक दिलाउने नेपाली राष्ट्रिय कबड्डी टोलीकी खेलाडी हुन अनुजा कुलुङ राई ।
मेनुका राजवंशीको नेतृत्वमा रहेको नेपाली कबड्डी टोलीमा अग्लो कदकी २५ वर्षिय अनुजा सशक्त खेलाडी हुन । गत सोमबार बङ्गलादेशलाई पराजित गरेपछि नेपाली टोलीले मुलुकलाई एसियाली खेलकुदकै पहिलो पदक पक्का गरेको थियो ।
एसियाली खेलकुदको कबड्डी प्रतिस्पर्धामा नेपाली टोली पहिलोपटक सहभागी भएको हो । प्रतियोगितामा पदक दिलाउन अनुजाले प्रदर्शन गरेको खेल कौशलको चौतर्फी प्रशंसा भइरहेको छ ।
हल्दिबारी गाउँपालिका–३ देवीबस्तीमा रहेको अनुजा कुलुङको घर पुग्दा बुबा धनमान राई भैँसी चराउन जङ्गलमा थिए । आमा तिलसरी पुरानो दराज इनामेलले रङ्ग्याउँदै थिइन । अनुजाको बुबा र आमा बस्ने टिनको छानो भएको सानो भुइँतले घर नजिकै जलथल जङ्गल छ । जहाँ अनुजाका बुबासहित गाउँलेहरु गाईभैँसी र बाख्रा चराउन जान्छन । अधुरो हुलाकी राजमार्गबाट पाँच सय मिटर दक्षिण जङ्गलकै छेउमा खेतीपातीबाटै अनुजाको परिवारले जीवन धान्दै आएको छ ।
सानो घर, थोरै खेतीपाती र भैँसीपालनको परिवेशले अनुजा सङ्घर्ष गरेरै खेल जगतमा गाउँबाट उदाएकी प्रतिभा हुन भन्ने स्पष्ट झल्किन्छ । किसान परिवारमा जन्मिएकी अनुजा चार पाँच वर्षको हुँदा नै बुबा धनमान वैदेशिक रोजगारीमा गए । आमा र हजुरआमाको ममतामा हुर्किएकी अनुजा सानैदेखि कबड्डी खेलप्रति आकर्षित थिइन । अनुजाकी दिदी रोशनी वैदेशिक रोजगारीकै सिलसिलामा साइप्रसमा गएकी छन भने भाइ पनि विदेश जाने तयारीमा छन् ।
काठे बेराको भुइँतले घरका साँघुरा कोठामा खचाखच माल सामानसँगै अनुजाले स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पाएका प्रमाणपत्र र जितेका पदक असरल्ल थिए । केही पोखरा र काठमाडौँमा पाएका प्रमाणपत्र थिए भने कोही राजस्थान र मलेसियामा जितेका पदक थिए । अनुजाले पाएका पदक कोठाका भित्तामा टाँगिएका र कोही बाँसका कञ्चीमा बेरेर राखिएका थिए ।
“कबड्डी भनेपछि हुरुक्कै हुन्थी, भातै खान बिर्सिन्थी”, आमा तिलसरीले अनुजाको बाल्यकाल सम्झिँदै भने, “स्कुल गयो कबड्डी खेल्यो, घर आयो कबड्डी खेल्यो अनि बेलुका भयो । छिमेकीका घरमा गएर पनि टिभीमा कबड्डी गेम नै हेरेको छ । अति भएपछि पढाइ बिग्रन्छ कि भन्ने चिन्ता थपियो । पढ्नमा मन लगा छोरी, यसरी खेलमा लागेर भविष्य बिग्रिन्छ भनेर कति सम्झायौँ । तर, उसले मानिन । कबड्डी खेल्न छाडिन ।”
कबड्डी खेलेर देशको नाम संसारभर चिनाउने सङ्कल्प लिएर खेल क्षेत्रमा सानैदेखि समर्पित अनुजालाई कबड्डीमा दोहोर्याउने प्रशिक्षक झापाकै रतिया राजवंशी हुन् । हाल भद्रपुर वडा नं ६ का वडाध्यक्ष रहेका राजवंशी अखिल नेपाल कबड्डी सङ्घका कोशी प्रदेश अध्यक्ष र कबड्डीका पूर्वराष्ट्रिय प्रशिक्षक पनि हुन् ।
आफूले प्रशिक्षित गराएकी विद्यार्थी अनुजाले एसियाली खेलमा पदक जित्दा खुसी लागेको बताउँदै कबड्डी सङ्घका तत्कालीन प्रशिक्षक राजवंशी भन्छन, “जब म हल्दिबारीको पञ्चायत माविमा पुगेँ । अग्लो र बलिष्ठ कदकी छात्रालाई बोलाएर तिमीले अब कबड्डीको तालिम लिनुपर्छ भनेँ । तिनै छात्रा नै अहिलेकी अनुजा हुन् । मैले उनी भविष्यमा राष्ट्रकी होनहार प्रतिभा बन्ने छिन् भन्ने त्यतिबेलै कल्पना गरेको थिएँ । मेरो त्यो अनुमान अहिले साँचो ठहरियो ।”
अनुजाले घरदेखि टाढा रहेको पञ्चायत मावि र लक्ष्मी माविबाट माध्यमिक तहको शिक्षा हासिल गरेकी थिइन् । उसबेला गाउँका अरु केटीहरु टाइसुटमा ठाँटिएर बोर्डिङ स्कुल पढ्थे । घरको आर्थिक अवस्था बलियो नहुँदा उनले पैदल धाएरै सरकारी विद्यालयमा पढ्न र खेल्न बाहेक गाईवस्तु पनि चराउनुपथ्र्यो, घाँस पनि काटनुपथ्र्यो । आफ्नो विद्यालयमा पढेकी छात्राले अन्तर्राष्ट्रिय खेलकुदमा मुलुकको स्वभिमान उँचो बनाउँदै पदक जितेकोमा विद्यालयमा खुसीको माहोल छाएको पञ्चायत माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद बनले बताए ।
प्रधान अध्यापक बनका अनुसार अनुजाले स्कुलबाटै कबड्डी सिकेकी हुन् । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कबड्डीमै उनले पटक–पटक गोल्डमेडल जितेकी थिइन् । जिल्ला, प्रदेश हुँदै उनी राष्ट्रिय टोलीमा सामेल हुन पुगिन् । अहिले उनी नेपाली सेनाको विभागीय टिम आर्र्मी क्लबमा आबद्ध छन् ।
एसियाली खेलकुदमा भाग लिन चीन जानुअघि अनुजाले घरकी बोजु ७२ वर्षीया मनमाया राईलाई फोनबाट आर्शिवाद मागेकी रहिछन् । जितेर आउनु भनेर आफूले आर्शिवाद दिएको मनमायाले बताइन् । कबड्डीमा पदक जितेको खबर सुन्दा साह्रै खुसी लागेको बताउने मनमायाले अनुजा डेढ वर्षदेखि घर आउन नभ्याएकोमा भने बेखुसी व्यक्त गरिन ।
खेलमा बढी रुचि भएकी अनुजा सानो छँदा कबड्डीको प्रतिस्पर्धा हेर्न छिमेकीका घर गएर टिभी हेर्ने गर्थिन् । धेरै गाउँ हिँड्न थाली भनेर उनकै लागि भनेर आमा तिलसरीले आफ्नै घरमा टिभी किनेर ल्याउनुपरेको सुनाइन् । “सबै गाउँलेले पनि खेलमा लागेर छोरी बिग्रिने भई भनेर डर देखाउँथे, हामी पनि कबड्डी खेलेर हातखुट्टा भाँचियो भने कसले पाल्छ नानी भनेर सम्झाउँथ्यौँ”, आमा तिलसरीले अनुजाको खेल अभिरुचिबारे सुनाउँदै भनिन, “खेल खेलेरै नाम कमाउँछु भन्थी । उनको सपना आज पूरा भएको छ । हामीले खेलबाट पनि संसारभरि चिनिन सकिने रहेछ भनेर बुझेका रहेनछौँ ।”
नेपाली कबड्डी टोलीले चीनमा पदक जितेपछि अनुजाको खेलको फुटेज र अन्तर्वार्ता सञ्चारमाध्यममा छाएका थिए । पदक जितेको खबर पहिलोपल्ट अनुजाको भाइले बुबा धनमानलाई सुनाएका थिए भने गाउँलेले मोबाइलमा युट्युबमार्फत अनुजाको अन्तर्वार्ता देखाएका थिए । पछि टेलिभिजन र रेडियोमा पनि अनुजाको नाम सुन्दा गौरव लागेको धनमानले बताइन ।
“म रोजगारीका लागि विदेश गइहाले, उसलाई सानो छँदा आमा र बोजुले नै रेखदेख गरेँ”, अनुजाको खेल सफलताबारे बुबा धनमान भन्छन, “एसियाली खेलकुदमा पदक दिलाएर हाम्री छोरी अब सम्पूर्ण नेपालीकै प्यारी छोरी भएकी छिन् । यसमा हामी ज्यादै खुसी छौँ ।”





























प्रतिक्रिया