काठमाडौं ।
साम्राज्ञी राज्यलक्ष्मी शाह पछिल्लो समय चर्चामा आएकी र रुचाइएकी अभिनेत्री हुन् । उनले नेपाली फिल्म उद्योगमा ५ वर्ष बिताइसकिन् । यो अवधिमा उनले ८ चलचित्रमा काम गरिसकेकी छिन् । उनले डेब्यु चलचित्र ‘ड्रिम्स’ बाट नै दर्शकको मन जितिन् र निर्माता निर्देशकको नजरमा पनि परिन् । त्यस यता उनका हातमा एक पछि अर्को चलचित्र आइरहे । उनले पछाडि फर्केर हेर्नु परेन । उनले ‘ड्रिम्स’ लगायत ‘ए मेरो हजुर २’,’ तिमी सँग’, इन्टु मिन्टू लन्डनमा’, ‘कायरा’, ‘मारुनी’, ‘रातो टिका निधारमा’ लगायत चलचित्रमा काम गरिन् ।
नेपाली फिल्म उद्योगमा उनी यस्ती एक अभिनेत्री हुन् जो विवादकी पर्याय हुन् । उनले सामाजिक सञ्जालमा गरेका पोस्ट देखि उनको व्यक्तिगत सम्बन्धले चर्चामा आइरहन्छिन्, विवादमा परिरहन्छिन् । उनको अभिनय मन पराउने दर्शक धेरै भए पनि उनलाई मन नपराउनेको सङ्ख्या पनि कम छैन । उनलाई घमन्डीको ट्यागदेखि चर्चामा आउन जे पनि गर्ने भनी ट्रोल समेत बन्ने गरेका छन् । यस विषयलाई लिएर साम्राज्ञीले आफ्नो तर्फबाट केही कुरा सार्वजनिक गरेकी छिन् । उनले आफूले नेपाली फिल्म उद्योगमा ५ वर्ष बिताउँदा भोगेका कुरा र आफूलाई त्यसले पारेको असर बारे आफ्ना कुराहरू सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गरेकी छिन् ।
आफ्नो भोगाई र यस सँग सम्बन्धित कुराहरू राख्ने क्रममा उनले आफूले चलचित्रमा काम गर्ने क्रममा धेरै दुर्व्यवहार भोगेको उल्लेख गरेकी छिन् । उनी भन्छिन्, ‘मैले काम गरेका तीन वटा ब्यानरमा अति नै नराम्रो व्यवहार भोगेकी छु’ । १७ वर्षको उमेरमा चलचित्र क्षेत्रमा प्रवेश गरेको सुनाउँदै उनी भन्छिन्, ‘मैले जति पनि ब्यानरसँग काम गरेँ त्यी मध्ये धेरैसँग काम नदोहोरिनुको कारण मलाई गरिएको व्यवहार नै हो । मैले एउटा कलाकारले पाउनु पर्ने सामान्य सम्मान पनि पाइनँ । मलाई कति पल्ट दुर्व्यवहार पनि भएको थियो ।’
यसरी आफ्नो अनुभव सुनाउँदै उनले सुटिङको सेटमा राम्रो खानेकुरा त परै जाओस् पिउने पानीको पनि राम्रो व्यवस्था नभएको उनले गुनासो गरेकी छिन । उनी आफूलाई भएको मौखिक दुर्व्यवहारको बारेमा बताउँदै एउटा राम्रो ब्यानरको चलचित्रमा काम गर्ने क्रममा सेटमा नै आफूलाई निकै दुर्व्यवहार भएको र दुई घण्टासम्म रोएर फेरी आफूलाई सम्हाल्दै सुटिङ सुरु गरेको सुनाएकी छिन् । उनी आफूले जिम्मा लिएको कामलाई कसैगरी पनि अधुरो अपुरो नछोड्ने र कामलाई निकै सम्मान गर्ने मान्छे भएकाले यी सब कुरालाई बिर्सेर अगाडी बढेको समेत बताएकी छिन् । उनले आफूले फिल्म उद्योगको एकदमै सम्मान र आदर गर्ने मानिससँग काम गर्दा पनि निकै दुर्व्यवहार सहनु परेको र त्यस यता पुनः उक्त व्यक्तिसँग काम नगरेको र नगर्ने समेत बताउँछिन् । आफूले शतप्रतिशत दिएर काम गर्दा पनि घमन्डीको ट्याग गलाउँदै आफूमाथि लगाइने आरोपले निकै नराम्रो लाग्ने उनले भिडियोमा बताएकी छिन् ।
उनी भन्छिन्, हरेक अन्तर्वार्तामा आफूलाई घमन्डी भएको र यही स्वभावलाई लक्षित गरेर प्रश्न गरिँदा निकै दुःख लाग्छ । उनले आफू चाहिने ठाउँमा केही हदमा घमन्डी भएको र आफ्नो कामको विषयमा कहिल्यै कम्प्रमाइज नगर्ने पनि बताएकी छिन् । नेपाली फिल्म उद्योग निकै सानो छ र आफूले काम गरेको ५ वर्षको अवधिमा भोगेको सबै कुरा बाहिर ल्याउने आँट नभएको पनि उनको भनाइ छ । आज पनि यस्तो विषयमा धेरै खुलेर कुरा गरिँदैन र मेकरहरु पनि यस्तो कुरा बाहिर नआओस् भन्ने चाहने भएकैले कयौँ यस्ता कुरा बाहिर ननिस्कने उनी भन्छिन् । उनी आफूले यी कुराहरू बाहिर ल्याएपछि उनीप्रति थप घृणा उत्पन्न हुने आफूलाई थाहा भएको तर घृणा पचाउने बानी परिसकेको र अब पनि पचाउने र सहजै लिने बताउँछिन् ।





























प्रतिक्रिया