कर्णाली प्रदेशलाई ‘पूर्ण खोप प्रदेश’ घोषणा गरिएको छ। कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय,स्वास्थ्य सेवा निर्देशनालयद्वारा आयोजित ‘पूर्ण खोप प्रदेश घोषणासभा’ समारोहमा सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेलले पूर्ण खोप प्रदेश घोषणा गरेका हुन्।
‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित मन्त्री पोखरेलले ‘पूर्ण खोप कर्णाली प्रदेश’ घोषणा गरे।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. संगीता मिश्रले भौगालिक अवस्थाले कठिन भए पनि पूर्ण खोपयुक्त बनाउन सक्नु महत्वपूर्ण उपलब्धि भएको बताइन्।उनका अनुसार अहिलेसम्म ७२ जिल्ला र तीन प्रदेश पूर्णखोप घोषणा गरिएको छ। कर्णाली पूर्ण खोप घोषणा हुने चौथो प्रदेश भएको छ।
यहाँका दश जिल्लाका ३४ हजार ६७१ बालबालिका सबैले खोप लगाएपछि ‘पूर्ण खोप कर्णाली प्रदेश’ घोषणा गरिएको स्वास्थ्य सेवा निर्देशनालय सुर्खेत निर्देशक डा. रविन खड्काले जानकारी दिए। उजले खोप लगाउन छुटेकालाई पनि खोजेर खोप लगाउन सुझाउने बताए।
कर्णालीको दैलेख विसं २०७४, सुर्खेत २०७५, जुम्ला, मुगु, कालीकोट, जाजरकोट, रुकुमपश्चिम र सल्यान २०७९ मा तथा डोल्पा र हुम्ला २०८० मा पूर्ण खोप जिल्ला घोषणा गरिएको थियो।
घोषणासभामा जिल्ला समन्वय समिति सुर्खेत र मुगुका प्रमुखद्वय गङ्गाराम सुनार र मन्जन कार्कीले खोप कार्यक्रमलाई प्रभावकारी बनाउन सुझाव दिएका थिए ।































प्रतिक्रिया