अन्तिम पाँच मिनेट सम्हालिन नसक्दा ब्राजिल सन् २०२६ को फिफा विश्वकप छनोट अन्तरगत दक्षिण अमेरिकी छनोटमा बराबरीमा रोकिएको छ ।
ब्राजिल घरेलु मैदानमा भेनेजुएलासँग १-१ गोलको बराबरीमा रोकिएको हो। ब्राजिलका लागि डिफेन्डर गाब्रिएलले गोल गर्दा भेनेजुएलाका इडवार्ड बेलोले बराबरी गोल फर्काए ।
एरिना पान्टानाल माटो ग्रोसो ब्राजिलमा शुक्रबार बिहान भएको खेलमा घरेलु टोली ब्राजिलले खेलको सुरुवातदेखि नै भेनेजुएलालाई दवावमा राखेपनि गोलको लागि दोस्रो हाफ कुर्नुपरेको थियो ।
५०औं मिनेटमा गाब्रिएलले गोल गर्दै ब्राजिललाई १–० को अग्रता दिलाए । उनले नेयमारको पासमा गोल गर्न सफल भएका थिए । तर, ब्राजिल अन्तिम पाँच मिनेट सम्हालिन सकेन ।
८५औं मिनेटमा परिवर्तित खेलाडी इडवार्ड बेलोले गोल गर्दै ब्राजिललाई जितबाट वञ्चित गराए । ८०औं मिनेटमा स्यामुइल सोसाको स्थानमा मैदान छिरेका उनले मैदान पसेको पाँच मिनेटमै जेफर्सन साभारिनोको पासमा गोल गर्न सफल भएका थिए ।
भेनेजुएलासँग बराबरीमा रोकिएसँगै विश्वकप छनोटमा ब्राजिलको घरेलु मैदानमा जितको यात्रामा पूर्णविराम लागेको छ । यसअघि ब्राजिलले घरेलु मैदानमा भएको विश्वकप छनोटमा १४ खेलमा जित निकालेको थियो ।
यस बराबरीले ब्राजिलले शीर्षस्थानको अर्जेन्टिनासँग अंक बराबरी गर्ने अवसर गुमाएको छ । अपराजित रहेको ब्राजिलको ३ खेलबाट ७ अंक छ । समान खेलबाटै शीर्षस्थानको अर्जेन्टिनाको ९ अंक छ । ब्राजिललाई बराबरीमा रोकेको भेनेजुएला ३ खेलबाट ४ अंक जोडेर छैटौं स्थानमा छ ।





























प्रतिक्रिया