आजदेखि खोकनामा श्री रुद्रायणी देवीको १२ वर्षे मेला

आजदेखि खोकनामा श्री रुद्रायणी देवीको १२ वर्षे मेला

केन्द्रबिन्दु
0
Shares

आजदेखि ललितपुरको खोकनामा श्री रुद्रायणी देवीको १२ वर्ष मेला सुरु हुँदैछ। १२ वर्षमा एकपटक हुने यो मेला असोज शुक्ल द्वितियाको दिनबाट सुरु हुन्छ।

यो दिन श्री रुद्रायणी देवीगणहरुबाट आफ्नो शक्ति सञ्चय स्वरुप विभिन्न स्थानहरुमा द्यो काः वनेगु (भगवान लिन जाने) कार्य गरिन्छ। १२ वर्षको मुख्य जात्रा मनाउन द्यो गणहरुबाट विभिन्न स्थानबाट शक्ति साधना काः वनेगु (लिन जाने) कार्य गरिन्छ। 

साथै सोही राति देवता गणहरु मध्ये कुमारी र वामुख्या द्यो श्री खण्ड भवानी मन्दिरमा विराजमान श्री खण्ड भवानीलाई विधिवत रुपमा पूजा गरिन्छ। पूजा सकेपछि मन्दिरबाट बोकेर खोकनाको क्वेलाछीमा अवस्थित नाःस द्यो मन्दिरमा आफ्नो शक्ति सञ्चयका लागि गोप्य रुपमा प्रतिस्थापन गरिन्छ।

१२ बर्षे मेला जात्रा मनाउने क्रममा मुख्य रुपमा रहेको जात्रा असोज शुक्ल तृतीय (मंगलबार) लाई लिइन्छ। किनकि अरु जात्राहरु यो भन्दा अघिल्लो वर्ष जसरी चलाउँदै आइरहेको हुन्छ, जस्तै हुन्छ। यस दिन ढोका बाहिर चोखो राँगा काट्ने जात्रा  मनाइन्छ। 

उक्त जात्रा शुरु गर्नु पूर्व रुद्रायणी देविगणबाट गरिने सम्पूर्ण कार्य सकि सके पछि भोजन गरिन्छ। आफ्नो भोजन सके पछि श्री खण्ड भवानीका द्यो बुलाई भोजन तथा जात्रा शुरु गर्नका लागि निमन्त्रणा गर्न कुमारी अथवा वामुख्वा आउँछन्। 

तत्पश्चात द्यो वुबाट श्री खण्ड भवानी जात्राको लागि आवश्यक गरगहना, वस्त्र तथा आफूलाई चाहिने सामाग्रीहरु सबै बोकेर उनीहरुसंग क्वेलाछीमा लगिन्छ। देवता गणहरुबाट द्यो बुलाई भोजन गराइन्छ। भोजन सकेपछि द्यो बुबाट श्री खण्ड भवानीलाई वस्त्र, तिसा र मालाले सिंगारिन्छ। आफू पनि तयारी अवस्थामा रहन्छ। 

उक्त समयमा देवगणहरु पनि देःसा सञ्चालनका लागि तयारी अवश्थामा हुन्छ। जबसम्म श्री खण्ड भवानी तयारी अवश्थामा रहँदैन, जात्रा पनि सुरु गरिँदैन। यस कारण खोकनाको १२ वर्ष जात्रामा श्री खण्ड भवानीको अहंम भूमिका रहेको हुन्छ। 

श्री खण्ड भवानी तथा द्यो बुबाट आफ्नो कार्य सकेपछि द्यो बुबाट कुमारीले शक्ति सञ्चयका लागि नासं द्यो मन्दिरमा प्रतिस्थापित भगवानलाई विधिवत रुपमा उठाई कम्मरमा बोकिन्छ। 

त्यसपछि कुमारीले आफ्नो शक्ति बोकिरहेका द्यो बुलाई कम्मरमा समाइन्छ। कुमारीको दाहिने हातमा अरु समयमा सधैं खड्ग हुन्छ भने सो दिन खड्ग हातमा हुँदैन। त्यसपछि देःसा शुरु भई जात्रा अघि बढाइन्छ अर्थात १२ बर्षे मेलाको मुख्य जात्रा सुरु हुन्छ। कुमारीले द्योबुलाई समाते देखि नछोडिकन नै खोकनाको पूरा देःसा जात्रा संचालन कार्य हुन्छ। 

जात्राको अन्तः श्री रुद्रायणी मन्दिरको अगाडिको डबलीमा हुन्छ। यो डवलीको जात्रा १२ बर्षे मेलाको प्रमुख जात्रा हो। यो जात्रा हेर्नका लागि दर्शालु भक्तजनहरुको भींड हुन्छ। यो जात्रा सबैले हेर्न असमर्थ पनि हुन्छ। यहाँ पुगेपछि विधिवत रुपमा पूजा तथा रुद्रायणी देवीगणहरुबाट बाजा बजाउँछन्।

 कुमारी र श्री खण्ड भवानीबीच पूर्ण रुपमा शक्ति साधना नभएसम्म घुम्ने घुमाउने कार्य गरिन्छ अर्थात कुमारीले श्री खण्ड भवानीलाई आफ्नै साथ राख्न चाहन्छ भने श्री खण्ड भवानी त्यहाँबाट फुत्केर आफ्नो वासस्थान भित्र विराजमान हुन चाहन्छन्।

यसै क्रममा श्री खण्ड भवानी तथा द्यो बुलाई रेखदेख गर्न गुठीबाट व्यवश्था गरिएका इनाभाहरुबाट द्यो बुले बोकिराखेको भगवानलाई फुट्काएर लिइसकेपछि मात्र द्यो बुलाई कुमारीले छोड्छ। यसै क्रममा आफ्नो शक्ति सञ्चय पूर्ण रुपमा नभएको खण्डमा पछिपछि आउन सक्छन्। यसरी फुत्कायर ल्याए पछि पुनः श्री खण्ड भवानीलाई द्यो बुबाट मन्दिरमा विधिवत रुपमा पूजा गरी प्रतिश्थापन गरिन्छ। यसरी जात्रा अन्त हुन्छ।

ललिलपुर महानगरपालिका वडा नं २१ खोकनाका अध्यक्ष रवीन्द्र महर्जनका अनुसार खोकनाको ऐतिहासिक महत्वपूर्ण जात्रा हरेक वर्ष भव्य र सभ्य रुपमा मनाउँदै आइरहेका छन्, यसै क्रममा यो वर्ष अझ विषेश छ किनकि यो वर्ष १२ वर्षे जात्रा हो। 

श्री रुद्रायणी गुठीका सचिव बुद्धी डंगोलका अनुसार प्रत्येक वर्ष श्री रुद्रायणी देवीको जात्रा गाईजात्राको भोलिपल्ट अर्थात् खोकना वासीहरुको स्थानीय गाईजात्राको दिनबाट शुभारम्भ हुन्छ। 

सो दिन रुद्रायणी मन्दिरमा विराजमान रुद्रायणी देवीलाई रुद्रायणी देवगणहरुबाट १ महिनाका लागि विधिवत रुपमा पूजा अर्चना गरी द्यो कुनेगु (देवता देखाउने) कार्य गरिन्छ। 

तत्पश्चात खोकना गढ पर्खालभित्र नुहाउने, लुगा धुने, छालाका सामानहरु लगाउने, कुखुराको मासु, अण्डा, पूजामा रातो टिका, घण्टी बजाउने, मनोरन्जनात्मक कार्यहरु गर्ने, भोज भतेर आदिमा कार्यहरु पूर्ण रुपमा प्रतिबन्ध गरिन्छ। 

तर खोकनाभित्र अवस्थित श्री खण्ड (खड्ग) भवानी द्यो कुःनेगु कार्य गरिदैन किनकि यो समयमा रुद्रायणी मन्दिरभित्र रहेका सबै देवीदेवताहरु गुफामा रहेको हुन्छ।

तर देशलाई संरक्षण तथा सुरक्षाका सबै कार्यहरु गर्नुपर्ने हुन्छ। सो कार्य श्री खण्ड भवानीबाट गरिन्छ। यस समयमा माथि प्रतिवन्धित कार्य भएता पनि श्री खण्ड भवानी मन्दिरमा अवस्थित श्री खण्ड भवानीको प्रत्येक दिन बिहान नित्य पूजा गर्नुपर्छ।

साथै सो पूजामा अनिवार्य रुपमा रक्त चन्दनको रातो टिका र श्रीखण्डको सेतो टिका राखेर नृत्य पूजा गर्नुपर्छ। यस अर्थमा श्री खण्ड (खड्ग) भवानी शक्तिको प्रतिकको रुपमा रहेको छ। १२ वर्षे जात्राको मुख्य दुई दिन (मंगलबार र बुधबार) हुने गरे पनि यो नाच काठमाडौँ उपत्यकाका विभिन्न ठाउँहरुमा देखाइन लाने बताइएकाे छ।

Skip This
Skip This
Logo