खम्बा गाडेको चार वर्षपछि बल्यो बिजुली

खम्बा गाडेको चार वर्षपछि बल्यो बिजुली

केन्द्रबिन्दु
0
Shares

म्याग्दीको मालिका गाउँपालिका-६ को उपल्लो दुखु गाउँमा खम्बा गाडेको चार वर्षपछि केन्द्रीय प्रसारण लाइनको बिजुली बलेको छ।

नेपाल विद्युत् प्राधिकरणले पर्वतको मिलनचोकदेखि म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गा जोड्ने प्रसारण लाइन, ३३/११ केभी क्षमताको रातोढुङ्गा सबस्टेसन र दुखुलगायत आसपासका तीन वटा वडामा विद्युतीकरण गर्न विसं २०७४ मा काम सुरु गरेको थियो। विसं २०७६ मा खम्बा गाडिएको थियो।

सोही योजनाअनुसार उपल्लो दुखुका ४१ र खुवाङका आठ घरमा गत केन्द्रीय प्रसारण लाइनको बिजुली बलेको उपल्लो दुखुका बासिन्दा ओमकार रोकाले जानकारी दिए।

‘खम्बा गाडेको चार वर्षपछि गत शनिबारदेखि केन्द्रीय लाइनको बिजुली बाल्ने सपना पूरा भएको छ,’उनले भने, ‘खम्बा गाड्न र तार तान्न बाँकी रहेकाले दुखुका अझै ५० घरमा बिजुली बल्न बाँकी छ।’

बिजुली बलेपछि घरायसी काम गर्न, बालबालिकालाई पढ्न, उद्यम व्यवसाय सञ्चालन गर्न, इन्टरनेट, कम्प्युटर, ल्यापटप चलाउन, टिभी हेर्न, मोबाइल चार्ज गर्न, रेडियो सुन्न सहज भएको स्थानीय ईश्वरी पुनले बताइन्। दुखुका बासिन्दा रातको समयमा उज्यालोका लागि १४ दशमलव ५ किलोवाट क्षमताको दुखुखोला लघु जलविद्युत् परियोजनाको विद्युत् प्रयोग गर्दथे।

नियमित र दिउँसो विद्युत् आपूर्ति नहुँदाको समयका लागि विकल्पमा सौर्य ऊर्जा प्रयोग गर्दै आएका थिए। नियमित बिजुली आपूर्ति हुन थालेपछि जनजीवन सहज भएको पुनले बताइन्। नेपाल विद्युत् प्राधिकरणको बेनी वितरण केन्द्रले एसियाली विकास बैंकको परियोजनामार्फत संरचना तयार भएपछि विद्युत् वितरण गरिएको जनाएको छ।

केन्द्रका इञ्जिनियर शिवप्रसाद शर्माले उपल्लो दुखुमा १०० केभी र खुवाङमा २५ केभीको ट्रान्सफर्मर जडान गरेर विद्युत् आपूर्ति तथा वितरण हुने व्यवस्था मिलाएको बताए। खम्बा गाड्ने, तार तान्ने, वायरिङ र ट्रान्सफर्मर जडान गर्ने काम सकिएपछि दुखुका बाँकी घरधुरीमा बिजुली बाल्ने योजना रहेको उनले बताए।

म्याग्दी वितरण केन्द्रअन्तर्गत २२ हजार विद्युत्का ग्राहक छन्। गत आर्थिक वर्ष २०७९/८० मा एक हजार २३८ उपभोक्ता थपिएका थिए। म्याग्दीमा केन्द्रीय लाइनको विद्युत् नपुगेका दुई हजार २०० घरधुरीमा विद्युतीकरण गर्ने उद्देश्यले हालै रु २० करोडभन्दा बढी बजेटको ठेक्का सम्झौता भएको छ।

भौगोलिकरुपमा विकट क्षेत्रमा अवस्थित धवलागिरि गाउँपालिकाको गुर्जाबाहेक सबै बस्तीमा केन्द्रीय लाइनको विद्युत् विस्तार गर्ने तयारी भएको गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले जानकारी दिए।

Skip This
Skip This
Logo