दसैँ सुरु भएसँगै ताप्लेजुङस्थित प्रसिद्ध पाथिभरा धाममा दर्शन र पूजाअर्चना गर्न जानेको संख्या उल्लेख्य रुपमा बढेको छ। पाथिभरामा अरु बेला पनि तीर्थालुहरु पुग्ने गरेका छन्। खासगरी दसैँमा भवगतीको पूजा अर्चना गरिने भएकाले यही बेला धेरै श्रद्धालु पाथिभरा पुग्ने गरेका छन्।
दसैँको पहिलो दिन करिब १ हजार ३ सयजना श्रद्धालुले पूजा अर्चना गरेको पाथिभरा संरक्षण समितिले जनाएको छ। त्यसयता दैनिक रुपमा तीर्थयात्रीको संख्या बढिरहेको छ। तीर्थयात्रीको संख्या यकिन गणना गर्न यसपटक सीसी क्यामरा जडान गरिएको पाथिभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताए।
३ हजार ७ सय ९४ मिटर उचाइमा रहेको पाथिभरामा दसैँका बेला तीर्थयात्रीको भीड हुने भएकाले होटल, यातायात जस्ता क्षेत्र पनि लाभान्वित हुने गरेका छन्। पाथिभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेवेका अनुसार अब सुरु भएको पाथिभरा यात्रा मध्य मंसिरसम्म जारी रहन्छ।
स्थानीय छायाँ खतिवडा दसैँमा दुर्गा भवानीलाई शक्ति माताका रुपमा पूजा अर्चना गरिने भएकाले भक्तजनहरु पाथिभरा आएर पूजा गर्न इच्छुक हुने गरेका छन्। एक पटक आएका तीर्थयात्री दोहोर्याइ तेहर्याइ आउने गरेको उनले सुनाइन्। पाथिभरा धाममा नेपालका प्रायजसो सबै क्षेत्रका साथै भारत र भुटानका श्रद्धालुहरु समेत आउने गरेका छन्।





























प्रतिक्रिया