दशकौँअघिसम्म गाउँघरमा कुटानी, पिसानीका लागि प्रयोग हुने ढिकी, जाँतो लोप हुन थालेका छन्।
कुटानी, पिसानीको सहज माध्यमका रुपमा बजारमा विद्युत् तथा पेट्रोल, डिजेलबाट चलाउन सकिने आधुनिक मिल आउन थालेपछि ढिकी, जाँतोको प्रयोग हराउन थालेका हुन्।
मानिस उत्पादनमुखीभन्दा पनि बाहिर बजारबाट आउने चामल, दाललगायत सामग्री प्रयोग गर्ने भएकाले पनि ढिकी, जाँतोको चलन हराउँदै गएको छ।
विगतमा ढिकी र जाँतोमा धान कुट्ने, गहुँ, कोदो, मकै, फापर, दाललगायत पिस्ने काम हुने भए पनि पछिल्लो समयमा आधुनिक मिलको सहायताले मानिस कुटानी, पिसानी गर्दै आएका छन्।
दशकअघिसम्म एउटा घरमा ढिकी, जाँतो अनिवार्य हुने गरेको भए पनि त्यो चलन हराउँदै गएको स्थानीय ९८ वर्षीय वृद्ध बेनीबहादुर विष्टले बताए।
अबको १२-५ वर्षमा यी उपकरण चलाउने प्रचलन पूर्णरुपमा लोप हुने उनको भनाइ छ। “पहिला गाउँघरमा ढिकी, जाँतो अनिवार्य जस्तो नै थियो”, उनले भने, “सबैका घरमा ढिकी, जाँतो हुन्थ्यो। तर अहिले त्यस्तो अवस्था रहेन। प्रविधिको विकाससँगै ढिकी जाँतोका चलन इतिहास बन्ने अवस्था छ।”
गाउँघरमा विद्युत् पुगेसँगै यहाँका अधिकांश ठाउँमा विद्युत्बाट चल्ने मिल राखेर धान कुटानी, तेल पेल्नेदेखि पिठो पिसाउन थालेपछि गाउँमा परम्परागतरूपमा चल्दै आएका ढिकी, जाँतो हराउन थालेका हुन्।
कुटानी, पिसानीका लागि आधुनिक मिलले सहज भए पनि ढिकी, जाँतो भने लोप हुँदै गएको स्थानीयको भनाइ छ। मानिसले बढी मेहनत गर्नुपर्ने भए पनि ढिकी, जाँतोमा कुटेका खाने कुरा स्वास्थ्यकरसँगै स्वादिष्ट हुने टेम्केमैयुङ– ५ की स्थानीय मसिनी माया विष्ट बताउँछन्।
“आधुनिक मिलमा कुटानी, पिसानीका लागि सहज छ”, उनले भने, “तर यसरी कुटिएको अन्नको स्वाद राम्रो हुन्न। ढिकी, जाँतोमा कुटेर, पिसेर खाँदा स्वाद नै फरक हुन्छ। मिलमा कुटानी, पिसानीको लागि छिटो हुने भएकोले ढिकी, जाँतोको चलन हराएको छ।” गाउँका प्रत्येकजसो घरमा देखिने ढिकी तथा जाँतो पछिल्लो समय लोप हुँदै गएको उनको भनाइ छ।
भौगोलिकरूपमा विकट र विद्युत् पुग्न नसकेका गाउँमा भने अहिले पनि ढिकी तथा जाँतोको प्रयोग हुने गरे पनि विद्युत् पुगेका ठाउँमा परम्परागतरूपमा रहेका ढिकी तथा जाँतो प्रयोग गर्ने चलन हराएको स्थानीयवासी हिरालाल लुइँटेलले बताए।
“विद्युत् विस्तार भएका ठाउँमा ढिकी, जाँतोको प्रयोग हटेको छ”, उनले भने, “तर विद्युत् नपुगेका ठाउँमा भने अहिले पनि ढिकी, जाँतो प्रयोग गर्दै आएका छन्। प्रविधिको विकासले ढिकी, जाँतोको चलन हराउँदै गएको छ।”
सहजतासँगै आधुनिक विद्युतीय मिलको सञ्चालनले परम्परागत ढिकी तथा जाँतो इतिहास बन्ने अवस्था आएको लुइँटेलले बताए। परम्परागतरूपमा प्रयोग गर्दै आएका ढिकी तथा जाँतोलाई संरक्षण गर्न आवश्यक रहेको उनको भनाइ छ।
मेहनत धेरै परे पनि अन्य मिलको तुलनामा घरेलु तरिकाले काम गरिने भएकाले कम खर्चिलो हुने उनले बताए। ढिकी र जाँतोमा नकुटी नहुने पूजाआजामा प्रयोग गरिने पिठोलगायत कुट्नका लागि ढिकी अनिवार्य जस्तो नै रहेको उनको भनाइ छ।
“मेहनत बढी परे पनि ढिकी, जाँतोको सहजताले कुटिएका खानेकुरा लाभदायक हुन्छ”, उनले भने, “यस्तो चलन गाउँघरबाट नै हराउँदै जानु दुःखद् हो। यी कुराहरुलाई हामी पनि संरक्षण गर्न आवश्यक छ।” आधुनिक मिलले मानिसको दैनिक जीवनमा सहजता प्रदान गरे पनि खाद्यान्नमा हुने पौष्टिक तत्व भने नष्ट हुने स्थानीयवासीको भनाइ छ।































प्रतिक्रिया