विजया दशमी कलाकारले धुमधामले मनाएका छन्। अभिभावकबाट बडादसैँको टीका ग्रहण गरिएका तस्विरहरु कलाकारहरुले सामाजिक सञ्जालमार्फत सार्वजनिक पनि गरेका हुन्।
हास्य कलाकार हरिवंश आचार्यले पत्नी, छोरा र बुहारीलाई टीका लगादिएकाे उनले सामाजिक सञ्जालमार्फत टीकाको तस्विर सार्वजनिक गर्दै आपसी सद्भाव बढाउने पर्वको रूपमा बडादसैँलाई लिइएको बताए।
दसैँ लगत्तै ‘महाजात्रा’ को छायाङ्कनमा जानुपर्ने भएकाले पनि दसैँलाई आफन्तसँगको भेटघाटको रुपमा मनाइरहेको उनले जानकारी दिए।
यसैगरी अभिनेता अनमोल केसीले पिता तथा अभिनेता भुवन केसीको हातबाट टीका र जमरा लगाएका छन्। स-परिवार टीका ग्रहण गरेको जानकारी गराउँदै उनले दसैँ लगत्तै ‘फर्की फर्की’ नामक चलचित्रमा काम गर्ने बताए।
यो दसैँ अभिनेता तथा मोडल पल शाहका लागि पनि महत्वको भएको छ। उनले अघिल्लो वर्ष टीका लगाउन नपाइएका कारण यो वर्षको दसैँ परिवारसँग बसेर मनाइरहेको बताए।
अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, अभिनेता तथा निर्देशक निर्मल शर्मा, अभिनेत्री वर्षा सिवाकोटी र अभिनेता जितु नेपालले पनि आफ्ना मान्यजनबाट टीका ग्रहण गरेका छन्। अभिनेत्री वर्षा राउतले पनि आफ्ना पति तथा अभिनेता सन्जोग कोइरालासँग सिन्धुली पुगेर टीका ग्रहण गरेकी छिन्।
यस्तै आमाबाट टीका र जमरा ग्रहण गरेका हास्य कलाकार शिवशङ्कर रिजालले भने,“तराई गएर अन्य मान्यजनबाट पनि टीका ग्रहण गर्नेछु। मेरो दसैँ तराई र काठमाडौँमा बराबर हुँदै आएको छ।”
यसैगरी अभिनेता सलिनमान बनियाँ, अभिनेत्री स्वेता खड्का र ऋचा शर्मा, अभिनेता रवीन्द्रसिंह बानियाँले पनि आफ्ना मान्यजनबाट टीका ग्रहण गरेका हुन्।
अभिनेता खगेन्द्र लामिछानेले आफूद्वारा निर्मित तथा लिखित चलचित्र ‘पशुपति प्रसाद-२ः भष्मे डन’ प्रदर्शनरत रहेकाले काठमाडौँ उपत्यकाको विभिन्न चलचित्र भवनमा पुगेर दर्शक भेट्ने जानकारी दिए।
“यो पटक स्याङ्जास्थित घर जान नपाए पनि दर्शकसँग साक्षात्कार गर्दै दसैँ मनाइरहेको छु”,उनले भने। दसैँलाई एकता, भ्रातृत्व र प्रेमको रूपमा लिइने गरिएका कारण सबै आफन्तजन एकै स्थानमा भेला भएर टीका लगाउने गरिएको कलाकारहरूले जानकारी गराए।





























प्रतिक्रिया