काठमाडौं ।
नेकपा अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकता हुँदा गरिएको शक्ति बाँडफाँड सम्बन्धी सम्झौता छोडेर गल्ती गरेको बताएका छन् । बुधबारबाट सुरु भएको पार्टी स्थायी कमिटी बैठकमा बोल्दै अध्यक्ष दाहालले आधा आधा कार्यकाल प्रधानमन्त्री चलाउने सहमति छोड्नु गल्ती भएको बताएका हुन् ।
‘मैले पहिला पार्टी एकता हुँदाको सम्झौता छोडेर पार्टीको हकमा जे लाभ हुन्छ भनिएको थियो त्यो भएन । त्यो गल्ती गरिएछ भन्ने महशुस भएको छ,’ दाहालको भनाई उद्धृत गर्दै एक नेताले भने ।
पार्टी एकता हुनुभन्दा एक दिन अगाडि अर्थात ०७५ जेठ २ गते ६ बुँदे सहमतिमा समानता र समान अवधिका आधारमा आवश्यकता अनुसार दुवै अध्यक्षले सरकारको नेतृत्व गर्ने विषय पनि थियो । ०७६ मंसिर ४ गतेको सचिवालय बैठकले दाहाललाई कार्यकारी अध्यक्ष दिने र ओलीले पाँच वर्ष सरकार चलाउने सहमति गरेको थियो । तर, दाहालले कार्यकारी भूमिका नपाएको भन्दै असन्तुष्टि जनाएका छन् ।
बैठकमा अध्यक्ष दाहालले घुमाउरो पाराले अध्यक्ष वा प्रधानमन्त्री मध्ये एक पद छाड्न ओलीसमक्ष प्रस्ताव गरेका छन् । दाहालको भनाइ थियो, ‘अब हाम्रा अगाडि दुई बाटो छन् । पार्टी र सरकार संकटमा छ । एउटा, संघर्ष गरेर फुटको बाटो । कुनै पनि हालतमा त्यो बाटो जानु हुँदैन, एकता गरेर जानुपर्छ । त्यो नै उत्तम बाटो हो । त्यसको निम्ति हामी त्याग गर्न तयार हुनुपर्छ । हामी को को ले त्याग गर्दा हुन्छ त्यसमा तयार हुनुपर्यो ।’
केही समय अगाडि दाहाल लगायतका नेताले सचिवालय बैठकमै प्रधानमन्त्री ओलीको राजीनामा मागेका थिए ।कान्तिपुरबाट





























प्रतिक्रिया