काठमाडौं ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बुधबार संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री माइकल आर पोम्पेओसँग टेलिफोन संवाद गरी द्विपक्षीय वार्ता गरे ।
संवादका क्रममा उनीहरुबीच दुवै पक्षले कोभिड–१९ महामारीको विरूद्ध लड्न अनुभव आदानप्रदान गर्दै महामारीका कारण मानव जीवनको क्षतिप्रति सहानुभूति र संवेदना पनि व्यक्त गरेका परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्रमन्त्री र विदेश मन्त्रीले आफ्ना नागरिकलाई प्रदान गरिएको संरक्षण र हेरचाहको एकअर्काको सरकारको सरहाना गरे । दुवै पक्षले नेपालको सामाजिक आर्थिक विकासका प्रयासको पूरक रहेको दुई देशबीचको विकास साझेदारीको महत्वबारे पनि छलफल गरे ।
मन्त्री ज्ञवालीले कोभिड–१९ महामारी सम्बन्धी परियोजनामार्फत अमेरिकी सरकारले नेपालको स्वास्थ्य लगायत अन्य क्षेत्रमा प्रदान गरेको सहयोगको सराहना गरेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सो अवसरमा विदेशमन्त्री पोम्पेओले नेपाललाई अमेरिकाको निरन्तर सहयोगको आश्वासन दिएका थिए । दुवै पक्षले कोभिड–१९ पछिको सन्दर्भमा वृद्धि हुनेस्तरको आर्थिक साझेदारीसँगै सहकार्य बढ्ने विश्वास व्यक्त गरे ।





























प्रतिक्रिया