आश्विन शुक्ल पूर्णिमाका दिन आज खण्डग्रास चन्द्रग्रहण लाग्ने भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार राति १ः१९ बजे स्पर्श हुने चन्द्रग्रहणको सुतक शनिबार दिउँसो ४ः१९ बजेदेखि सुरु हुनेछ।
राति २ः३८ बजे ग्रहण सकिने (पञ्चाङ्ग) पात्रोमा उल्लेख गरिएको छ। यो चन्द्रग्रहण विसं २०८० मा लाग्ने एक मात्र ग्रहण भएको समितिले जनाएको छ।
ग्रहणका बेलामा स्नान गरी शुद्ध भावले विभिन्न मन्त्रोच्चारण गर्नाले राम्रो हुने मानिन्छ। तर, विशेष कामना राखेर गरिने कर्म भने गर्न नहुने बताइन्छ। धर्मशास्त्रका ग्रन्थमा चन्द्रग्रहणको नौ घण्टाअघिदेखि सुतक लाग्ने उल्लेख गरिएकाले आज राती लाग्ने ग्रहणको दिउँसो ४ः१९ बजेदेखि बार्नुपर्ने हुन्छ।
बाल, वृद्ध र बिरामी बाहेकले भोजन गर्न नहुने बताइएको छ। ग्रहणका बेला जप, स्नान,ध्यान, पाठलगायत कर्म गर्दा फलदायी हुने शास्त्रीय वचन छ। गत वर्ष कात्तिक ८ गते सूर्यग्रहण र २२ गते चन्द्रग्रहण लागेको थियो।
ग्रहण लागेका बेला सकेसम्म तीर्थ स्थलमा नसके नजिकको नदी,ताल,तलाउ, पोखरी वा त्यो पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णय सिन्धु,काल माधव, लगायतका धार्मिक ग्रन्थमा उल्लेख गरिएको पाइन्छ।





























प्रतिक्रिया