बहुप्रतिष्ठित म्यानचेस्टर डर्बीमा म्यानचेस्टर सिटीले विजयी भएको छ । म्यानचेस्टर युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा पाहुना टोली म्यानचेस्टर सिटीले ३–० को सहज जित हात पारेको हो।
सिटीको जितमा एर्लिङ हालान्डले २ गोल गर्दा फिल फोडेनले एक गोल थपे । पछिल्ला केही डर्बी जस्तै खेलको सुरुवात बाट नै सिटी खेलका हाबी थियो। खेलको आठौं मिनेटमा नै सिटी गोल गर्नबाट चुक्यो। वाल्करको क्रसमा फोडेनको हेडर युनाइटेड गोलरक्षक आन्द्रे ओनानाले बचाएपछि हालान्डले अवसर प्राप्त गरेका थिए। तर उनी भन्दा अगाडि युनाइटेडका गोलकिपरओनानाले बललाई सुरक्षित गरे।
२०औं मिनेटमा ओनानाले ज्याक ग्रिलिसको प्रहार पनि बचाए । २४औं मिनेट भने सिटीले पेनाल्टीमार्फत अग्रता लिन अवसर पायो । युनाइटेडका स्ट्राइकर रास्मस होइलन्डले रोड्रीलाई पेनाल्टी बक्समा लडाएपछि सिटीले पेनाल्टी पाएको थियो । पेनाल्टीमा हालान्डले सहजै गोल गर्दै टोलीलाई अग्रता दिलाए।
पहिलो हाफको अन्तिम समयमा भने युनाइटेड बराबरीको नजित पुगेको थियो। स्कट मक्टोमिनेको प्रहार सिटी गोलरक्षक एडरसनले राम्रो बचाउ सहित पोस्ट बाहिर फालेका थिए । त्यसपछि पहिलो हाफको अन्तिम मुभमा ओनामाले हालान्डको हेडरको राम्रो बचाउ गरे।
दोस्रो हाफको सुरुवातमा पनि सिटी नै हाबी हुँदै ४९औँ मिनेटमा अग्रता दोब्बर गर्यो। बर्नार्डो सिल्भाको क्रसमा हालान्डले खाली रहेको अवस्थामा हेडर मार्फत खेलमा व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाए।
५७औँ मिनेटमा ग्रिलिसको प्रहारमा पुनः ओनाना बाधक बने। ६९औँ मिनेटमा युनाइटेडका मार्कस र्यासफर्डले खेलमा युनाईटेडको सबैभन्दा स्पष्ट मौका पाएका थिए । तर उनको प्रहार पोस्टको केही टाढाबाट बाहिरियो।
७१औं मिनेटमा हालान्ड ह्याट्रिक गर्न बाट चुके। वान-अन-वान अवस्थामा उनले गरेको चिपमा फेरिपनि ओनाना बाधक बने। ८०औँ मिनेटमा भने सिटीले तेस्रो गोल गर्न सफल भयो। हालान्डकै असिस्टमा फिल फोडेनले सहजै गोल गर्दै खेलमा जित सुनिश्चित गरे।
सिटी १० खेलमा ८ जित र २ हार सहित २४ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ। दोस्रो स्थानमा रहेको अर्सनलको पनि २४ अंक भएतापनि गोल अन्तरका आधारमा दोस्रो छ। शीर्ष स्थानमा रहेको टोटेनहमको २६ अंक छ। पराजित युनाइटेड भने ५ जित र ५ हार सहित १५ अंक बटुल्दै आठौं स्थानमा छ।





























प्रतिक्रिया