कोसी प्रदेश मन्त्रिपरिषद् विस्तारबारे अझै टुंगो लाग्न सकेको छैन। मन्त्रिपरिषद् विस्तारको विषयमा नेपाली काँग्रेस र नेकपा एमालेबीच सोमबार छलफल भएको थियो। छलफल विना निष्कर्ष सकिएकाे हाे।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मुख्यमन्त्री केदार कार्की र एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीबीच छलफल भएको थियो। छलफलका क्रममा सरकारमा कुन कुन दललाई सहभागी गराउने भन्नेबारे कुराकानी भएको जनाइएको छ।
एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीका अनुसार नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादी पार्टीमध्ये तत्कालका लागि कुनै एक दलका प्रतिनिधिलाई सहभागी गराएर मन्त्रिपरिषद् विस्तार गर्नेबारे छलफल भएको छ। सत्तारुढ गठबन्धनमा आबद्ध सबै दललाई सरकारमा सहभागी गराइए आफू सरकारमा बस्न नसक्ने एमालेले बताउँदै आएको छ।
छलफलमा सहभागी नेपाली काँग्रेसका सांसद शमशेर राईले गठबन्धन भित्रको कुनै एक दललाई सहभागी गराएर सरकार विस्तार गर्न सकिनेबारे छलफल भएको जानकारी दिए। मुख्यमन्त्री कार्कीले भने सर्वदलीय सहमतिको सरकार बनाउनु आवश्यक रहेको भन्दै त्यसका लागि सार्वजनिक अपिल गर्दै आएका छन्।
काँग्रेसको शेखर कोइराला पक्षका कार्की गत असोज २७ गते मुख्यमन्त्री बनेका थिए। मुख्यमन्त्री भएलगत्तै उनले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए। हाल मन्त्रिपरिषद्मा कार्कीबाहेक एकजना कांग्रेसका र अर्का एकजना एमालेका मन्त्री सहभागी छन्।
मन्त्रिपरिषद्मा एमालेका राम राना र काँग्रेसका शमशेर राईलाई बिना विभागीय मन्त्रीको जिम्मेवारी दिइएको छ। मुख्यमन्त्री कार्कीलाई राष्ट्रिय प्रजातन्त्र पार्टीबाहेक एमाले, काँग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी पार्टीका सांसदले विश्वासको मत दिएका थिए।
९३ सदस्यीय कोशी प्रदेश सभामा रहेका एमालेका ३९, काँग्रेसका २९,माओवादीका १३,एकीकृत समाजवादीका ४ र जसपाका एक गरी ८६ जना सांसदले कार्कीलाई विश्वासको मत दिएका थिए।





























प्रतिक्रिया